
शिसिर बोगटी, डोटी
डोटी जिल्लाका ९ ओटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूको समीक्षा गोष्ठी सिलगढीमा हुने भएको छ । आइतबार र सोमवार गरेर दुई दिने सञ्चालन हुने गोष्ठीमा आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन भएका स्वास्थ्यका विभिन्न कार्यक्रमहरूको समीक्षा हुने छ ।

स्वास्थ्य कार्यालय डोटीका अनुसार कोभिड–१९ विरुद्धको खोप, टाइफाइड विरुद्धको खोप, स्वास्थ्य शिविर लगायत स्वास्थ्यका महत्त्वपूर्ण सूचकहरू आमा सुरक्षा, परिवार नियोजन, पोषण आदि कार्यक्रमहरूको बृहत् रूपमा समीक्षा हुने छ ।
उक्त समीक्षा कार्यक्रममा ९ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुखहरूको सहभागिता रहने छ । उनीहरूले आ–आफ्नो पालिकाको स्वास्थ्य प्रगति विवरण प्रस्तुत गर्ने भएका छन् । साथै आगामी वर्षको स्वास्थ्यका कार्यक्रम तथा बजेटको योजना तर्जुमा समेत हुने भएको छ ।
