
स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु हुँदैछ । निर्वाचन आयोगले ११ र १२ वैशाख (आज र भोलि)का लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो । आज बिहान १० बजेदेखि भोलि अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो नाम मनोनयन गर्न पाउनेछन् ।
निर्वाचन आयोगले शनिबार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मनोनयन दर्ताको मिति शुरु भएसँगै निर्वाचनको तयारी एक चरणबाट टुंगिएर अर्को चरणमा प्रवेश गरेको बताए । ‘निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन तयारीको सबै (काम) सम्पन्न गरेको छ’ उनले भने, ‘अब उम्मेद्वारी, मतदान, मतगणना र नतिजा प्रकाशनको कामतर्फ उन्मुख हुँदैछ ।’
निर्वाचन आयोगले उम्मेदवारहरुका लागि १८ प्रकारका प्रतिबद्धता व्यक्त गरेर निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ । ती प्रतिबद्धता यस्ता छन्-
१. संविधानप्रति निष्ठावान रहेको घोषणा गर्नुपर्नेछ ।
२. २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको घोषणा गर्नुपर्नेछ ।
३. सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको घोषणा गर्नुपर्नेछ ।
४. स्थानीय तह निर्वाचनसम्बन्धी कुनै कानुनले अयोग्य नभएको घोणा गर्नुपर्नेछ ।
५. सरकारी अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको घोषणा गर्नुपर्नेछ ।
६. सरकारी कोषबाट कुनै लाभको पद धारण नगरेको घोणा गर्नुपर्नेछ ।
७. कुनै सजाय पाएको भए तोकिएको अवधि पूरा गरेको र कालो सूचीमा नपरेको घोषणा गर्नुपर्नेछ ।

८. मनोनयन पत्र साथ पेस गर्नुपर्ने सबै कागजात पेस गरेको घोषणा गर्नुपर्नेछ ।
९. प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक बन्द सूचीमा नाम नरहेको घोषणा गर्नुपर्नेछ ।
१०. मनोनयन पत्र साथ पेस गरेको सम्पत्ति विवरण साँचो रहेको घोषणा गर्नुपर्छ ।
११. स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको घोषणा गर्नुपर्छ ।
१२. स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको । (तर आफू उम्मेदवार हुने बाहेकका स्थानीय ठेक्कापट्टाको हकमा यो नियम लागू नगर्नू भनी सर्वोच्च अदालतले अन्तिम आदेस दिएको छ ।)
१३. सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको घोषणा गर्नुपर्छ ।
१४. विदेशको स्थायी आवासीय अनुमति पत्र नलिएको घोषणा गर्नुपर्नेछ ।
१५. न्यायिक वा अर्धन्यायिक निकायको कैद सजाय, जरिबाना तिर्न बुझाउन बाँकी नरहेको घोषणा गर्नुपर्नेछ ।
१६. निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्ध रहेको घोषणा गर्नुपर्नेछ ।
१७. सीमाभित्र रही खर्च गर्न र खर्च सम्बन्धी आचरण पालना गर्न प्रतिबद्ध रहेको घोणा गर्नुपर्नेछ ।
१८. संविधान, कानुन र निर्वाचन ऐन नियम भित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्ध रहेको घोषणा गर्नुपर्नेछ ।
