डोटीमा बजार अनुगमन, लाखौँ मूल्यका खाद्य सामाग्री नष्ट

गणेश मौनी 
वैशाख १२, डोटी
जिल्ला प्रशासन कार्यालय डोटीको नेतृत्वमा गरिएको संयुक्त अनुगमन टोलीले एक लाख भन्दा बढी मूल्यको खाद्य सामाग्री नष्ट गरेको छ । डोटीको सिलगढी, दिपायल राजपुर, ऐरपार्ट क्षेत्रमा  गरिएको अनुगमन टोलीले १ लाख ३४ हजार ३ सय साठी रुपैयाँ बराबरको खाद्य सामाग्रीहरू बरामद गरी नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ ।
उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा हुने गरेको कालोबजारी,  नियम विपरीत मूल्य, म्यान नाघेका चिजबस्तुहरुको नियन्त्रण गर्नका लागि बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय डोटीकी प्रशासकीय अधिकृत रमा कुँवरले बताइन् । उनले भनिन अनुगमन  नियमित रूपमा गर्नुपर्छ तब मात्र यस्तो कुराको नियन्त्रण हुने छ । बजार अनुगमनका क्रममा खाद्य पदार्थ सुजी, मसालाहरु, कोक, दालमटरहरु प्राय बढी मात्रामा म्याद गुज्रेका भेटिने गरेका प्रशासकीय अधिकृत कुँवरले बताइन् । बजार अनुगमनको अभियान नियमित रूपमा चल्नुका साथै जिल्लाका ग्रामीण क्षेत्रमा पनि अनुगमन गरिने बताइन् ।
Sayalb
खाद्य पदार्थमा म्याद नाघेका, पकाउने खाद्य सामग्रीहरूमा कलर प्रयोग गर्ने गरेको जस्ता सवालहरू अनुगमनमा देखा परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्राविधिक सहायक सागर सापकोटाले बताए । उपभोक्ताहरूले सामागि खरिद तथा प्रयोग गर्दा म्याद हेरेर मात्र प्रयोग गर्न सुझाव दिएका थिए ।
नापतौलका सामग्रीहरू सम्बन्धित कार्यालयबाट परीक्षण पश्चात् मात्र प्रयोग गर्न आवश्यक रहेको गुणस्तर तथा नापतौल कार्यालय सिलगढीका प्रमुख शम्भु आचार्यले बताए । उनले भने बजारमा अनुगमन गर्दा आधारभूत रूपमा राम्रो देखिए पनि केही पसलहरूमा तौलको रूपमा ढुङ्गाको प्रयोग  गर्ने गरिएको, केही व्यवसायीले अनुमति नलिई सञ्चालन गरेको, आवश्यक कागजात ठिक ठाउँमा नराखेको पाइएको बताए ।
संयुक्त अनुगमन टोलीले खाद्य सामाग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, व्यवसायीले सम्बन्धित निकायमा दर्ता आबद्धता कागजातहरू सबैले देख्ने गरी राख्ने गरे नगरेको,  व्यवसायको नाम, मूल्य सुची हेर्नुका साथै नभएको व्यवसायीलाई राख्न निर्देशन गरिएको थियो । अनुगमनका क्रममा बढीमा मात्रामा म्याद नाघेका चिउरा, भुजिया दाना, दालमटरहरु, बिस्कुट, खाने तेल, सोयबीन, काजु बदाम, चाउचाउ, मसालाहरु भेटिएका थिए ।  अनुगमन कार्यमा प्रहरी, प्रशासन, नगरपालिका, गुणस्तरीय तथा नापतौल कार्यालय, खाद्य नियन्त्रण तथा गुण नियन्त्रण डिभिजन, नागरिक समाज, पत्रकार, उद्योग वाणिज्य सङ्घ, साना तथा घरेलु उद्योग विकास कार्यालय लगाएको सहभागिता रहेको थियो ।
Shaileshwori
Loading...