

डोटी : यो बेला वन जङ्गलमा आगलागीका घटना धेरै हुने गर्छन् । कतिपयले अनजानमा त कतिपयले जानाजान जङ्गलमा आगो लगाउने गरेको पाइन्छ । आगलागीबाट जङ्गलमा भएका ससाना बोटबिरुवाहरू नास हुनुका साथै जङ्गली जनावरको वासस्थानको विनाश हुन्छ ।
शुक्रवार केआइसिंह गाउँपालिका वडा नम्बर ५ स्थित भट्टे डाँडाको सल्लाघारीमा पनि आगलागी भएको थियो । उक्त आगलागीलाई श्री भैरव प्रसाद गण सुल्लेक पोस्टको सुरक्षा बेसबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ ।

श्री भैरव प्रसाद गण सुल्लेक पोस्टका अनुसार उक्त पोस्टबाट २ किलोमिटर टाढा रहेको जङ्गलमा शुक्रवार दिउँसो २ बजेतिर आगलागी भएको थियो । उक्त पोस्टको सुरक्षा बेसबाट खटिएको बिपद व्यवस्थापन प्लाटुनले साँझ करिब ५ बजेतिर आगलागी नियन्त्रणमा लिएको हो ।
