फर्केर हेर्दा 

387
Shaileshwori
“सपना पूरा गर्न घर छोडेर हिडेको म, मलाई के थाहा थियो र कि कुनै दिन घर फर्किन पाउनु नै मेरो सपना बन्ला भनेर”। यो लाईन कतै सुनेको थिय मैले, तर आज मेरै जिबनमा लागू भैरहेछ ।
जीवनको ब्यस्ततालाइ विश्राम दिदै आज आफ्नो लागि के थोरै समय निकालेको थिए, मेरा आँखा त मलाई पत्तै नदिइ रसाउन भ्याइसकेका रहेछन् अनि फेरि आँसु पुछ्दै टोलाइरहे म, त्यो बाल्यकाल सम्झेर। घडीको सुइरोको दौडलाई महशुस गर्नै सकेनछु । मैले कहिलै सोचेको थियन, ती बाल्यकालका स–साना पल आज मेरो जिबनको अबिस्मरणिय क्षणहरु बन्नेछन् भनेर।
आज धेरै बर्षपछि बालपन कापीका पन्नामा कोरिरहँदा मेरा आँखाले प्रत्यक्ष मेरो जन्मघर र मेरा ती पुराना साथीहरु देखिरहेका छन्, मेरा कानले ती गोरेटोमा गुन्जियेका हाम्रो हासो सुनिरहेका छन् अनि मेरो मनले त्यो धुलो, हिलो, घाम नभनी खलामा (आगनमा) भकुण्डो खेलिरहेको महसुस गरिरहेको छ । अचानक मैले बिगत सम्झिएँ, मेरा हात कापिरहे, ध्यान पन्छाउँदै बर्तमान सम्झिन पुगेछु, मेरा खुट्टा लर्बरिरहे अनि सोच्दै नसोचेको भबिष्य देख्न पुगेछु जहाँ मेरो भाग्य टाढा बसि मलाई नै टुलुटुलु हेरिरहेको रहेछ । यही चिन्ताले मन पिरोलि रह्यो। भबिस्यको कुनै टुङ्गो छैन, तर पनि भबिस्यकै चिन्ता गरिरहेको छु ।
म बिवश छु, जिन्दगीको उतारचढावमा कैद एक लाचारताको प्रतिमूर्ती । कास, म समयलाई फर्काउन सक्थें । यदि समय मेरो बसमा हुन्थ्यो त म जीवनको भागदौडबाट फुत्किएर एकै सासमा दौडिदै घर पुग्ने थिएँ । भो मलाइ चाहिएन मृगतृष्णा, पैसामा अडिएका सम्बन्ध, यो शहरिया जीवन अनि क्षणिक सुख । बरु म त्यही निर्मल बाल्यकालमा आफूलाइ खोज्न चाहान्छु किनकि घरबाट धेरै टाढा यो बिरानो शहरमा हजारौंको भिडमा पनि एक्लै महसुस गरिरहेको छु ।
कठै मेरा बा–आमा भने हरेक साँझ मेरै बाटो हेर्दा हुन्। साच्चै मेरा बा–आमा के गर्दै होलान् ? के म कुदेका बाटा देख्दा मेरी आमा अझै मलाई सम्झेर, साँझ पर्यो छोरा  घर आइज भन्दिहुन् ? मेरा बा त्यसै गरी दुई हात कम्मर पछाडी बाधेर हिँड्दै छन् कि हिड्न सक्न छाडे होलान् ? के मेरी आमा अझै बासँग त्यसैगरी गनगन् गर्दैछिन् ? कि छोडिन् होला ? मनमा प्रश्नको पहरो खस्यो अनि अतालिँदै सम्झिएँ, मेरा बा–आमाका चाहुरिएका गालामा त्यही त्यस्तै जवानीको जस्तो मुस्कान होला ? यी सारा कुरा मनमा कल्पिरहेको छु, आज घरको खुब याद आइरहेछ।
सानो छँदा घरको खलामा(आगन) बसी जगत, डम्मर, गोपाल  सँग खेलेका ती अनेकन खेलहरु, अरुको जुत्ता बाट चोरेका ति मोजाका बलहरु मैले घर छाड्नु अघि, घरै अगाडिको सुन्तलाको फेदमुनि लुकाएको थिएँ । के ती पाँचढुङ्गगे गट्टी अझै त्यही होलान् ? कि हाम्रो मित्रता जस्तै कोही कता कोही कता छरिएका होलान् ? त्यो समय कति स्वर्णीम थियो जब टोलैभरिका केटाकेटी गोरु बाख्रा चराउन गोठालो जान्थ्यौ । पिपल्सैन, कालाढुङग्गा, पाल्याछडा, एकछाने घरीघरी आँखा अगाडि आइरहेका छन । अनि माछा मार्न जादा दिनभरी काम गर्दा पनि साझ रित्तो हात आउनु परेका ती दिन, घरबाट भागी–भागी कमिलाको तातीझैँ लस्करै काफल र ऐंसेलु टिप्न जङ्गल बरालियका ती दिन । काँडामा अल्झिएर कति लुगा च्यात्तिए,औंलामा कति हुन् कति काँडा पनि बिजे । घर फर्किंदा “बाजो खनेर आईस” भन्दै पिटाई नखाएको पनि कहाँ होर ? च्यात्तिएका ती कपडा पुराना भए, बिझेका ती काँडा पनि कता पुगे पुगे ।
त्यही ऐंसेलुको काँडामा कोत्रिएर सम्झना बनेका घाउ चाहीँ अझैसम्म चिनो बनेर हातैभरी छापिएका छन् । तर ती हराएका साथी अनि बिर्सिन नसक्नु क्षण भने मनको गहिरो कुनामा बिझाइरहन्छन्, चस्स,चस्स । के ती ताल खेल्न जाँदाका साथी खेम,  रमेश र लक्ष्मन दाइलाई यी सब कुराहरु याद होलान् ? के उनीहरु पनि मलाई यसरी सम्झिदा हुन् ?
कुनै कुनै साथी त्यस्ता पनि थिए जो भुत भनेपछि पिसाब नै झार्न खोज्थे। सानैबाट चंचले प्रवृत्तिको थिए म, त्यसैले डराएकालाइ अझै डर देखाउन समेत पछि पर्दैनथे । बाल्यकालमा भुतसँग डराउने मेरा ती साथीहरु कहालीलाग्दो भविष्य सम्झेर अहिले तर्सिन्छन् कि तर्सिदैनन् होला ?
सम्झिन्छु कति अमूल्य थियो त्यो समय जहाँ नाच्नलाई अहिलेको जस्तो रेडियो, मोबाइल केही चाहिँदैन थियो । बस्, नेपाली किताबको एउटा कबिता भय पुग्थ्यो । “गाउछ गित नेपाली ज्योतिको पंखा उचाली” । मेरा अरु साथिले पनि मेरै जसरी सम्जिदा हुन ती दिन थाहा छैन? तर म भने ती पल सम्झिरहेको छु ।
त्यो बेला मनमुटावको अर्थ त थाहा नै थिएन । कुड्की दामली (डन्डी बियो) खेलमा हार्नेलाई भेडा बनाउथे । एकदिनको कुरा हो, खेल्दै जाँदा म हारें, अनि भेडो हुने पालो मेरो आयो । सास नफेरी कुद्नु पर्थ्यो, झुक्केर मात्र सास फेरे फेरि सुरु देखि कुदाउँथे। आखिर अरुले जिते पनि हार कहिल्यै स्वीकार्य थिएन मलाई । भयो म खेल्दिन भन्दै सन्किंदै घर हिडेको थिय म । अहिले सम्झिँदा त्यो रिस हैन, आफैसँगको एउटा डर रहेछ । को भन्दा को पो कम थिए र । बालपन न हो ।
डम्मर, मेरो काकाको छोरा थियो । सानैबाट सँगै पढेकाले हामी खुबै मिल्थ्यौं । लुकीचोर खेल्दा उसले सुरुमै मलाई देखे पनि, मेरो एक आँखाको इसारामा नदेखे जस्तो गर्दै जान्थ्यो । कयौं पटक खेलमा मलाई डुम हुन बचाएको उसको त्यो गुन मैले उसलाई खै कहिले तिर्न सकुँला र ?
मोहन र म स्कुलमा सङगै पड्थ्यौ । क्लास सुरु हुनु भन्दा पहिले सबै विद्यार्थीका माझ आफ्नो केही प्रतिभा सुनाउनु पर्थ्यो । आफू जानुपर्छ भनेर हतार हतार ‘आज शिबराजको पालो हो’ भन्दै कैयौं पटक मलाई फसाएको उस्लाई याद होला ? ऊ अझै त्यसरी नै अरूलाई अगाडि बढ्न प्रोत्साहन गर्दैछ कि आफू पनि जीवनमा अगाडि बढ्यो होला ? धेरै सम्झिन्छु म, यी विद्यार्थी जीवनका भयानक क्षणहरु।
जब कुरा खुशीको आउँथ्यो, हामी धेरै स-साना कुरामा खुशी महसुस गर्थ्यौं । बर्षको एक फेरि लुगा किन्दा हामी कति खुसी हुन्थ्यौ । कति सजायर राख्थ्यौ ।
समय पनि कति चाँडै फुत्किँदो रहेछ । अहिले त्यही मित्रता पनि कति फितलो भएको आभाष हुन्छ । कति व्यस्तता छाएछ जीवनमा । जुन साथीहरुसँग आधा जीवन बिताइयो आज उनीहरुलाई खबर सोध्ने मसँग फुर्सद छैन न उनीहरु ले नै मलाई सम्झिन्छ्न् । हामी एक अर्कालाई नै बिर्सन बाध्य भएछौं । हेर्दा हेर्दै मित्रता मासिँदै गयो अनि त्यो बाल्यकालको माया पनि ।
यो बिरानो शहरमा पटक्कै बस्न मन छैन । अब, केवल एउटै मात्र घिडघिडो छ मनमा, कि बस समयलाई एकपटक फर्काउन सकुँ ताकी शुन्यतामा बित्दै गएका मेरा हरेक दिनले पुनः जीवनको सुन्दरता महसुस गर्न सकोस् । फेरि यो मनले बाल्यकालको आभाष गर्न सकोस् ।
– समीर जोशी 
Sujang New
Leave A Reply

Your email address will not be published.