
डोटी : खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति खारेज हुनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।आईतबार डोटीको दिपायलमा आयोजित खप्तडको विकास र प्रचारको लागि सरोकारवालाहरूसँग समन्वय छलफल तथा बैठकमा सहभागीले उक्त कुरा बताएका हुन् ।
समिति गठन भएको लामो समय भएको भए पनि त्यो अनुसारको कार्य समितिले नगरेको पाइएकाले खप्तडको विकास र प्रचारको लागि विज्ञ समिति गठन हुन आवश्यक रहेको बताउँदै समिति खारेज हुनुपर्ने बताइएको हो ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति अहिले राजनीति गर्ने थलो जस्तै भएको र खप्तडलाई जोडेर धेरैले आफ्नो स्वार्थ मात्रै पूरा गर्ने गरेको आरोप समेत लागेको छ । खप्तड क्षेत्र पर्यटन विकास समितिमा पछि आएर व्यवस्थापन समिति थपिएको कुरा उल्लेख गर्दै राजनीतिक व्यवस्थापन गर्ने परिपाटी त हैन भन्ने आशङ्का समेत गरिएको छ ।

खप्तडमा कसरी धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकिन्छ भन्ने कुरामा बैठकमा छलफल गरिएको छ ।खप्तड मध्यवर्ती क्षेत्रका स्थानीयहरूलाई आयआर्जन लगायत स्वरोजगार हुने खालका तालिम दिन आवश्यक रहेको होटेल व्यवसायी सङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष दीपक खड्काले बताए । साथै उनीहरूलाई पर्यटक प्रति गर्नुपर्ने व्यवहारको बारेमा तालिम दिनुपर्ने र यसले गर्दा खप्तडमा पर्यटक भित्र्याउन सकिने उनले बताए ।

खप्तडको प्रचारप्रसार भनेर थुप्रै रकम खर्च गरेको पाईएपनि नारामा मात्रै सीमित भएकाले खप्तड क्षेत्र ओझेलमा पर्ने हो कि भन्ने चिन्ता लाग्न थालेको डोटी उद्योग वाणिज्य सङ्घ डोटीका पूर्व अध्यक्ष नरेन्द्र बहादुर खड्काले बताए । खप्तड सँग आफू ३० वर्ष देखि जोडिएको हुँदा जति मात्रामा विकास हुनुपर्ने थियो त्यति नभएको उनले बताए ।
खप्तडको विकास र यश क्षेत्रमा पर्यटक भित्र्याउन आफू र आफ्नो टिम लागि परेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीम बहादुर खड्काले बताए । छलफलमा उठेको कुराको जवाफ दिँदै विकास समिति खारेज गर्ने नगर्ने अधिकारी प्रदेश सरकारसँग भएको उनले बताए ।
