डोटीमा ११ महिनाको अवधिमा ८ सय ४३ जनाले सुरक्षित गर्भपतन गराए

सिलगढी : डोटीमा आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा ८ सय ४३ जनाले सुरक्षित गर्भपतन गराएका छन् । चालू आर्थिक वर्षको जेठ मसान्त सम्म जिल्लाका सुचिकृत स्वास्थ्य संस्थाबाट उक्त संख्याले गर्भपतन सेवा लिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । यो संख्या असार मसान्तसम्म बढ्न सक्ने स्वास्थ्य कार्यालय डोटीको भनाइ रहेको छ ।
गर्भपतन गराउनेमा ७ सय ९२ जना २० वर्ष माथि र ५१ जना २० वर्ष मुनिका रहेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा एक हजार ४८ जनाले गर्भपतन गराउदा २० वर्ष माथिका एक हजार १४ र २० वर्ष मुनिका ३४ जना रहेका छन् । त्यस्तै २०७६/७७ मा ९ सय ८१ जनाले गर्भपतन गराएका थिए । जसमा ९ सय ३२ जना २० वर्ष भन्दा माथिका र ४९ जना २० वर्ष मुनिका छन् । डोटी जिल्लामा २१ ओटा सुचिकृत स्वास्थ्य संस्था रहेका छन् । जिल्ला अस्पताल डोटीमा औजारको माध्यमबाट र अन्य संस्थामा औषधीको माध्यमबाट गर्भपतन सेवा प्रदान भइरहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले बताए ।

Sayalb

स्वास्थ्य कार्यालय डोटीले आइतबार पत्रकार तथा स्वास्थ्य सञ्चारकर्मीसंग स्वास्थ्य सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरि आर्थिक वर्षको अहिले सम्म भए गरेका कार्यहरुको बारेमा जानकारी गराएको थियो । आर्थिक वर्षमा संघ सरकारबाट आएको रकम मध्ये स्वास्थ्य कार्यालयले ९४ प्रतिशत खर्च गरेको स्वास्थ्य कार्यालय डोटीका सुचना अधिकारी महेश बोहराले बताए । जिल्लामा यो वर्ष सबै भन्दा बढी टाउको दुख्ने समस्या भएका बिरामीहरु देखा परेका छन् । जिल्लामा नियमित खोप पाउनुपर्ने सबै बालबालिकाले खोपको सबै मात्र पाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गर्भवती भएका महिलाहरुले नियमित चार पटक गर्भ जाँच गराउनुपर्ने हुन्छ । जिल्लामा केही गर्भवति गर्भ जाँच गर्न स्वास्थ्य संस्थामा पहिलो तथा दोस्रो पटक आउने र चौथो पटकसम्म नआउने गरेको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । स्वास्थ्यमा समस्या आए मात्रै स्वास्थ्य संस्थामा आउने परिपाटी रहेको का कारण पनि उनिहरु नियमित गर्भ जाँच गराउन नआउने गरेको जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट निराजन श्रेष्ठले बताए । गर्भवती जाँच गर्दा प्रत्येक पटक फरकफरक कुराको जाँच गर्नु पर्ने भएकाले नियमित गर्भ जाँच गराउन आवश्यक रहेको उनले बताए । गर्भवती महिलाको २० हप्ता पछाडि प्रेसर समेत बढ्दै जाने हुँदा यसले गर्भवतीको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले स्वास्थ्य संस्थासँग गर्भवती सम्पर्कमा रहिरहनु पर्ने पनि उनले बताए ।

Shaileshwori
Loading...