
सिलगढी : डोटीको दिपायल सिलगढी नगरपालिकाले वडा नम्बर १ को तिखासम्म नगर बस सेवा सञ्चालनमा ल्याएको छ । सिलगढी, दिपायल र राजपुर बजारमा सञ्चालनमा रहेको बस सेवालाई विस्तार गर्दै नगरपालिकाले सोमबारबाट तिखा सम्म बस सञ्चालनमा ल्याएको हो । सोमबार नगर प्रमुख विजय खड्काले बस सेवाको उद्घाटन गरेका हुन् ।
पिपल्ला बजारबाट ९ किलोमिटरको दुरीमा रहेको तिखाका स्थानीयहरू अन्य सार्वजनिक सवारी साधनमा एक सय रुपैयाँ तिरेर दिपायलसम्म यात्रा गर्ने गर्छन् । अब नगर बसले ५० रुपैयाँमा दिपायल पुर्याउने छ । बिहान र साँझ एक एक पटक बस तिखा पुग्ने नगरपालिकाले जनाएको छ । नगर बस गाउँसम्म सञ्चालनमा आउने भए पछि स्थानीय हर्षित भएका छन् । नगरपालिकाले नागरिकको सहजताको लागि भन्दै तीन ओटा नगर बस सञ्चालन गरिरहेको छ ।
स्थानीहरूको सेवाको लागि चाँडै सडकको अवस्था हेरेर नगरपालिकाका अन्य स्थानमा पनि नगर बस सेवा सञ्चालनमा ल्याउने नगर प्रमुख खड्काले बताए ।

