
रोजेन्द्र जोशी
भाद्र ११, डोटी
सुदूरपश्चिम लोकसेवा आयोगको कार्यालय चाडै नै डोटीमा स्थापना हुने प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भएको छ । सवारी चालक अनुमति पत्रका लागी लिइने प्रयोगात्मक परीक्षा ट्रायल सेन्टरको उद्घाटन गर्न गृह जिल्ला डोटी पुगेको मुख्यमन्त्री भट्टले त्यस्तो बताउनु भएको हो ।

मुख्यमन्त्री भट्टले भन्नु भयो – हामीले सरकार चलाई रहँदा डोटी जिल्लाको विकासका लागी प्रदेशस्तरीय धेरै कार्यालयहरू डोटीमा स्थापना गरी रहेका छौ । प्रादेशिक तालिम केन्द्र डोटीमा स्थापना गरिएको छ, सरुवा रोग अस्पताल डोटीमा बनाइयो, कृषि निर्देशनालय, पशु सेवा निर्देशनालय डोटीमा स्थापना गरेका छौ । करदाताहरूको सहजताका लागी आन्तरिक राजश्व कार्यालय पनि डोटीमा स्थापना गरेको छौ, अब चाडै नै प्रदेश लोकसेवाको कार्यालय पनि डोटीमा स्थापना गर्नेछौ ।
अर्को प्रसङ्गमा मुख्यमन्त्री भट्टले भन्नु भयो – कर्मचारी अभावका कारण कार्यालयहरूमा कर्मचारीहरूको अभाव छ अब प्रदेशले लोकसेवा मार्फत आवश्यक कर्मचारी धमाधम भर्ना गर्ने योजनामा रहेको छ, यसरी कर्मचारीहरू भर्ना भएमा प्रदेशमा अभाव रहेका कर्मचारीहरूको पदपूर्ति हुने छ ।
मुख्यमन्त्री भट्टले कसैको दवाफमा नपरेर नियम सङ्गत रूपमा काम गर्न जिल्लाका सम्पूर्ण कर्मचारीहरूलाई निर्देशन दिएका छन् । नियम सङ्गत काम नगरी कार्यसम्पादन गरेको पाइएमा कारबाही गर्न प्रदेश सरकार पछि नहट्ने मुख्यमन्त्री भट्टले बताउनु भएको छ ।
