
डोटी : नेपाल राष्ट्रिय शिक्षक सङ्गठन (एनएनटिए) जिल्ला कार्यसमिति डोटीले शिक्षा विकास तथा समन्वय इकाई डोटीलाई विभिन्न माग सहित ज्ञापन पत्र बुझाएको छ । विद्यालयमा सिर्जना गरिएका थरिथरीका शिक्षकका प्रकार रहने अवस्थाको अन्त्य गर्नु पर्ने लगायतका माग राख्दै बुधवार ज्ञापन पत्र बुझाएको एनएनटिएका जिल्ला सचिव योगेन्द्र मल्लले जानकारी दिए ।
स्थानीय तहमा शिक्षक दरबन्दी तथा विद्यालय समायोजनका समस्या तुरुन्त समाधान गर्नुपर्ने, विद्यालयगत समस्या पहिचान गरी गुणस्तर वृद्धिका दीर्घकालीन र तत्कालीन समाधानका उपाय अवलम्बन गर्नुपर्ने, शिक्षकको विद्यमान मूल्याङ्कन पद्धति परिमार्जन गरी तहगत तथा आवधिक बढुवा लागू हुनुपर्ने तथा विद्यालयका दुई तहका आधारमा श्रेणी समाधान गरिनु पर्ने माग ज्ञापन पत्रमा छन् ।

त्यस्तै विद्यालय नक्साङ्कन कार्यलाई लागु गर्नु पर्ने, निजी स्रोतका शिक्षकहरूको तलब भत्ता व्यवस्थापनका लागि आवश्यक बजेटको बजेको व्यवस्था गर्नु पर्ने, सामुदायिक विद्यालयलाई आवश्यक पर्ने विद्युत् महसुल, सञ्चार, मर्मत, सरसफाइ, खानेपानी महसुल तथा वार्षिक उत्सव तथा खेलकुदका लागि अनुदानको व्यवस्था हुनुपर्ने, पालिका रूपमा एसइई परीक्षा केन्द्र स्थापना गरी ग्रेडबृद्वी परीक्षा समेत पालिकागत केन्द्रमा गर्ने व्यवस्था मिलाउनु पर्ने लगायतका माग राखिएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन (एनएनटिए) जिल्ला कार्यसमिति डोटीका अध्यक्ष पदमराज उपाध्यायले बताए ।

