
गणेश मौनी
असोज १३ डोटी
स्वास्थ्य कार्यालय डोटीले आयोजना गरेको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी बिहीबार जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ । डोटीका नौ वटै स्थानीय तहका स्वास्थ्य संयोजक एवं प्रतिनिधीहरुको सहभागिता रहेको गोष्ठीमा जिल्लाको स्वास्थ्यको अवस्था, सिकाई, चुनौती र भावी रणनितीको बारेमा छलफल गरिएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन सुपरभाइजर सूर्य विष्टले बताए ।
डोटी जिल्लाको स्वास्थ्य क्षेत्रको बारेमा सबै निकाय संवेदनशील हुन आवश्यक रहेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । उनले भने स्वास्थ्य क्षेत्र सँग आम नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुन्छन् त्यसैले यस क्षेत्रमा लापरबाही गर्ने छुट कसैलाई छैन । स्थानियतहका स्वास्थ्य संयोजकहरूले आफ्नो पालिकामा स्वास्थ्य क्षेत्रमा बजेट विनियोजनको लागि पहल गर्नुपर्ने, स्वास्थ्य अवस्थाको बारेमा नियमित रूपमा अनुगमन गर्नुका साथै सहजीकरण गर्न आवश्यक रहेको समेत समन्वय प्रमुख सिंहले बताए ।
स्वास्थ्य सम्बन्धीका विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धता र सूचकहरूमा सुदूरपश्चिम प्रदेश पछाडि रहेको स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा. जगदीश जोशीले बताए । उनले भने हामी पछाडि छौ भन्दैमा चिन्ता गर्नुपर्ने अवस्था छैन हामी अहिले २,३ गियरमा छौ अब ४,५ गियरमा जानुपर्छ सबैको सक्रियता र सहयोगले सम्भव छ ।
हामी सबैको एउटै लक्ष्य भनेको आम नागरिकलाई छिटो छरितो, गुणस्तरीय स्वास्थ्य सेवा दिने हो त्यसैले सबै निकाएको सहयोगमा गुणस्तरीय सेवा प्रवाह गर्न सकिने समेत बताए । स्थानीय सरकार जिल्ला र प्रदेश स्वास्थ्य निर्देशनालय एक आपस बिचको समन्वयको क्षेत्र बढाउन आवश्यक रहको समेत क्षेत्रीय निर्देशक जोशीले बताए ।
डोटीमा विभिन्न चुनौतीका बाबजुद पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्यकर्मिहरुको टिम लागिरहेको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख डिल्ली रमण जोशीले बताए । उनले भने समग्र डोटीको स्वास्थ्य अवस्था हेर्दा राष्ट्रिय सूचकहरूमा केही स्थानीय तह पछाडि रहेपनी तुलनात्मक रूपमा सन्तोषजनक रहेको बताए ।
स्वास्थ्य कार्यालय अन्तर्गत विनियोजित रकम स्वास्थ्यका कार्यक्रमहरूलाई भन्दा अन्य भौतिक संरचना निमार्ण गर्न संस्थाको विज्ञता भन्दा बाहिरको क्षेत्रमा बढी प्राथमिकता दिई बजेट विनियोजित गरिएको कार्यक्रम सञ्चालनमा बजेट अभाव रहेको, प्रदेश आपूर्ति केन्द्रले स्वास्थ्य सामाग्री वितरण गर्दा चेन अफ कमान अनुसार आपूर्ति केन्द्रले जिल्ला मार्फत स्थानीय तह , वडा र बस्तीमा सामाग्री वितरण गर्न आवश्यक रहेको सुझाव समेत दिएका छन् ।
ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीलाई भगवान् जस्तै मान्ने भएकाले स्वास्थ्यकर्मी पनि जिम्मेवार हुन आवश्यक रहेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपालीले बताए । उनले भने हामी जिल्ला अस्पताल डोटीको हरेक पक्षमा सुधार गर्न अगाडी बढी रहेका छौ सबै निकाएको सहयोग महत्त्वपूर्ण हुने बताए । वार्षिक समीक्षा कार्यक्रमको अवसरमा डोटीका नौ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरूलाई स्वास्थ्य कार्यालय डोटीले पुरस्कृत समेत गरेको थियो ।
जिल्लाको समग्र स्वास्थ्य प्रणाली सुदृढ गरी यहाँका आम नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सहयोग पुर्याउनु भएकोले पुरस्कृत गरिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

