
काठमाण्डाै : मङ्सिर ४ गते हुने प्रदेश, प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि विभिन्न दलहरूले चुनावी घोषणा पत्र सार्वजनिक गरिरहेका छन् । सोमबार (आज) नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले घोषणा पत्र सार्वजनिक गर्दै छन् । माओवादी केन्द्रले दिउँसो तीन बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा घोषणा पत्र सार्वजनिक गर्ने छ । माओवादीले घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने उल्लेख गरेको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीले दिउँसो १ बानेश्वरस्थित पार्टी कार्यालयमा घोषणापत्र सार्वजनिक गर्दै छ । ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण र समृद्धि समाजवादको आधार’ भन्ने नारासहित घोषणापत्र सार्वजनिक गर्ने नेताहरूले बताएका छन् । समाजवादीका महासचिव डा. वेदुराम भुसालले निर्वाचनका सन्दर्भमा पार्टीको नीतिगत प्रतिबद्धतासहित घोषणापत्र सार्वजनिक हुने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बिहान साढे ११ः३० बजे बानेश्वरको थापा गाउँ स्थित बानेश्वर बैङ्क्वेटमा घोषणापत्र सार्वजनिक गर्दै छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनद्वारा मतदाता समक्ष घोषणापत्र पेस गर्ने गरी कार्यक्रम तय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । नेपाली काँग्रेसले अस्ति शनिवार घोषणापत्र सार्वजनिक गरिसकेको छ ।

