
डोटी : दिपायल सिलगढी नगरपालिकाको २ र ५ नम्बर वडालाई जोड्ने गरी द्धारीखोला माथि बनेको झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । २०७८ पुस ५ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गर्नुभएको पुलको सोमबार उद्घाटन गरिएको हो । ७० मिटर उचाइ र २ सय मिटर लामो झोलुङ्गे पुलको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्काले उद्घाटन गर्नुभएको हो ।
दुई ऐतिहासिकता बोकेका ठाउँ जीर्णोद्धार गनैगौडा कोट दरबार र दुदेश्वरी जोड्ने गरेर पुल बनेपछि यो ठाउँ पर्यटकको रोजाइमा परेको छ । २०७८ असारमा सम्झौता भएको यो पुल एक पटक म्याद थप गरी देव भूमि कन्स्ट्रक्सन निमार्ण सेवाले २०७९ असोजमा सम्पन्न गरेको हो । नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारको कुल ९६ लाख ३९ हजार ७ सय ५८ लागतमा पुलको निर्माण भएको हो । पुलको उद्घाटन गर्दै प्रमुख खड्काले पुलको रेखदेख र व्यवस्थापन नगरपालिकाले गर्ने बताउनुभयो । थप पर्यटक भित्र्याउन यस क्षेत्रमा सम्भव हुने कार्यका लागि पनि नगरले प्रयास गर्ने उहाँको भनाई थियो ।

झोलुङ्गे पुलको उद्घाटन भएपछि डोटी चेम्बर अफ कमर्सका सचिव तेज डुम्रेलले खुसी व्यक्त गरेका छन् । एक दशक देखीको आफूहरूको चाहानाअनुरूप नगरपालिकाले पुल निर्माण गरेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभएको हो । सडक छेउबाट पुल सम्म पुग्न करिब १० मिनेट पैदल यात्रा गर्नुपर्छ । पर्यटकले पुलको नाम भाइरल दिएका छन् । दुदेश्वरी र कोटभैरब दुवै पर्यटकीय एवं धार्मिक स्थलको दर्शन गर्नुका साथै उच्च स्थानबाट वरपरको दृश्यावलोकन गर्न र टिकटक, भिडियो तथा फोटो खिच्न पर्यटकहरूको भिड लाग्ने गरेको देखिन्छ ।
