
प्रेम नेपाली
सुदूरपश्चिम प्रदेशका धेरै बासिन्दाको मूल आय स्रोत भारत हो । थोरै समय मात्रै घर बस्ने यहाँका युवायुवतीहरु प्रायः रोजगारीको लागि अधिकांश समय भारतमै हुन्छन् । खेतीपाती गर्ने समय र विशेष चाडपर्वमा मात्रै घर फर्किने यहाँका नागरिक काम सकिएपछि फेरि रोजगारीका लागि भारत नै जान्छन् ।
भारत जाने तथा घर फर्किने बेला विभिन्न समस्या झेल्नुपर्ने उनिहरुको बाद्यता छ । पछिल्लो समय रोजगारीका लागि भारत जानेहरु नेपाली एजेन्टबाट नै ठगिने गरेको पाइएको छ । सुदुरपश्चिमको धनगढी हुदै भारतको पलिया नाकाबाट सिधै गबेङ्लोर पुर्याइ दिने भन्दै बस व्यवसायीले यात्रुलाई सास्ती दिने गरेका छन् । बाटोमा गाडी फेरिरहनु पर्दा समस्या हुने भन्दै बसमा यात्रा गर्न सहज हुने भएपनि बस व्यवसायीहरुले अलपत्र पार्ने गरेको यात्रुहरुले गुनासो पोख्न थालेका छन् ।
माघ १० गते दिपक बिष्ट संचालक रहेको न्यु श्री पशुपतिनाथ जयलक्ष्मी टुर्स एण्ड ट्राभल्स प्रा.लि. ले पलियाबाट सिधै बेङ्लोर पुर्याउने भनेर भारतिय नम्बरको बसमा यात्रु पठायो । गाडी चालक पनि भारतिय रहेको उक्त बसमा समितीका प्रतिनिधि नहुँदा सास्ती बेहोर्नु परेको ४८ वर्षिय यात्रु शङ्कर बलायरले बताउनुभयो । भारतिय क. ५१ बि. १२३० नम्बरको बसको सिट क्षमता ७२ जना भएपनि बालबालिका सहित एक सय तीन जना सवार थिए । दुई जनाको सिटमा ६ जना बस्नु पर्ने बाध्यता यात्रुहरुलाई रहेको छ ।

रवि नाम गरेका बस चालक र गाडी साहुले यात्रु पठाउने समितिका व्यक्तिहरुले बसको भाडा नपठाएको भन्दै भारतको कर्नाटक देवापुर भन्ने ठाउँमा बिहीवार राती ११ बजेबाट शुक्रवार दिउँसो साढे ३ बजेसम्म यात्रुलाई अलपत्र पारे ।
गाडीमा भएका सबै समान निकाल्न पठाएर गाडी धुन जान्छौ भनेर निस्केको बस १६ घण्टा पछि मात्रै सम्पर्कमा आएको हो । यात्रु पठाउने समिति रहेको कैलालीको धनगढीमा रहेको होटेल जयलक्ष्मीमा नै प्रती यात्रुबाट ४ हजार नेपाली लिएको थियो । रुपैयाँ लिएका समितिका स्टापले पलिया सम्म बसमा मान्छे राख्नका लागि नाम बताउन सजिलो हुने भन्दै सबै यात्रुहरुका टिकेट समेत थुतेर गाडी स्टाफ सङ्ग राखेका थिए ।
ऋण कर्चा गरेर गाडि भाडा जम्मा पारेर भारत जान लागेका नागरिक नेपाली बाटै ठगिन थालेका छन् । बेङ्लोर पुग्ने गरि सिमित भाडा बोकेर हिडेका यात्रुलाई बस वालाले विभिन्न बाहानामा सास्ती दिने गरेका छन् ।
