
सिलगढी : डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ५ धिर्कामाण्डौँलाई साक्षर वडा घोषणा गरिएको छ । मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता प्रविधि प्रयोगको असमानतामा न्यूनता भन्ने मर्मका साथ बिहीबार वडालाई साक्षर वडा घोषणा गरिएको हो ।

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णय छ । सोही बमोजिम गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले वडालाई एक कार्यक्रमका बिच साक्षर घोषणा गर्नुभएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष गडसिला, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख, वडा अध्यक्ष लगायत स्थानीयको सहभागिता रहेको थियो ।
आइतबार वडा नम्बर १ सिमचौर, सोमबार वडा नम्बर २ केदारअखडा, मङ्गलवार वडा नम्बर ३ कानाचौर र बुधवार वडा नम्बर ४ सात्फरीलाई साक्षर वडा घोषणा गरिएको थियो ।
