
सिलगढी : डोटीको बोगटान फुड्सिल गाउँपालिकाका ६ वटा वडा साक्षर वडा घोषणा भएका छन् । शुक्रबार वडा नम्बर ७ चवराचौतारालाई साक्षर वडा घोषणा गरिएसँगै साक्षर घोषणा हुने वडाको संख्या ६ पुगेको छ । मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता प्रविधि प्रयोगको असमानतामा न्यूनता भन्ने मर्मका साथ गाउँपालिकाले वडाहरुलाइ साक्षर घोषणा गरिरहेको छ । अब वडा नम्बर ६ गगुडा मात्रै साक्षर वडा घोषणा हुन बाँकी छ ।

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयले नीतिगत व्यवस्था गरेको छ । सोही बमोजिम शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले वडालाई एक कार्यक्रमका बिच साक्षर घोषणा गर्नुभएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष गडसिला, प्रमुख प्रशासकीय अधिकृत भरत बहादुर चन्द, वडा अध्यक्ष चन्द्रमान सुनार, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख, लगायत स्थानीयको सहभागिता रहेको थियो ।
आइतबार वडा नम्बर १ सिमचौर, सोमबार वडा नम्बर २ केदारअखडा, मङ्गलवार वडा नम्बर ३ कानाचौर, बुधवार वडा नम्बर ४ सात्फरी र बिहिवार वडा नम्बर ५ धिर्कामाण्डौँलाई साक्षर वडा घोषणा गरिएको थियो ।
