
डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिकाका सबै वडालाई साक्षर घोषणा गरिएको छ । बिहीबार वडा नम्बर ६ गगुडालाई साक्षर घोषणा गरिएसँगै गाउँपालिकाका ७ वटै वडा साक्षर घोषणा भएका हुन् । मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता प्रविधि प्रयोगको असमानतामा न्यूनता भन्ने मर्मका साथ गाउँपालिकाले वडाहरूलाई साक्षर घोषणा गरेको हो ।
यसअघि वडा नम्बर १, २, ३, ४, ५ र ७ साक्षर वडा घोषणा भएका थिए । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयले नीतिगत व्यवस्था गरेको छ । सोही बमोजिम शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले वडालाई साक्षर घोषणा गर्नुभएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष गडसिला, वडा अध्यक्ष श्याम बोगटी, वडा नम्बर १ का वडा अध्यक्ष खेम घर्ती मगर, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी लगायत स्थानीयको सहभागिता रहेको थियो । गाउँपालिकालाई पनि छिट्टै साक्षर घोषणा गरिने गाउँपालिका अध्यक्ष कमल बहादुर गड्सिलाले बताउनुभयो ।
