
धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त हुनु भएको छ । मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत पाउन नसकेपछि नेपाली काँग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।

प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठुलो दलको नेता शाहलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । बिहीबार साँझ मुख्यमन्त्रीमा नियुक्त हुनु भएका शाहले शुक्रवार पद तथा गोपनीयताको शपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।
प्रदेश सभा बैठकमा सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य अनुपस्थित भएपछि मुख्यमन्त्री रावलले विश्वासको मत पाउन सक्नुभएन । जसले गर्दा नेकपा एमालेले नेतृत्व सहितको वर्तमान गठबन्धनको प्रदेश सरकार पूर्णता नपाउँदै ३० दिनमा ढलेको छ ।
