
गणेश मौनी
फागुन १३, डोटी
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा आयोजना गरेको मावि स्तरीय निबन्ध लेखन प्रतियोगितामा खत्याडी माविमा अध्ययनरत छात्रा रचना उपाध्याय र जोराघाट माविमा अध्ययनरत छात्र मोहन नेपाली उत्कृष्ट भएका छन् ।
बोगटान फुड्सिल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा ग्रामीण समुदाय विकास केन्द्र (आरसिडिसी) द्वारा सञ्चालित दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजनाले शुक्रवार बोगटानमा आयोजना गरेको “वातावरण र मानव जीवनमा जलवायु परिवर्तनको असर” शिर्षकको निबन्ध लेखन प्रतियोगितामा रचना र मोहन उत्कृष्ट विजेता बनेका हुन् ।

बिद्यार्थिहरुको बौद्धिक क्षमता अभिवृद्धिमा सहयोग पुगोस् भन्ने हेतुले आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा पालिका भरिका ९ वटा माध्यामीक विद्यालयका प्रत्येक विद्यालयबाट १ छात्र र १ छात्रा गरी १८ जनाको सहभागिता रहेको ग्रामीण समुदाय विकास केन्द्र डोटीका सब इन्जिनियर करन बहादुर विष्टले बताए ।
जलवायु परिवर्तनले गर्दा पानी पर्ने प्रवृत्तिमा घटबढ भई बर्सेनि बाढी पहिरो, बन डढेलो, खडेरी हिमपात विस्फोटन जस्ता घटनाहरू वृद्धि भइरहेको ग्रामीण समुदाय विकास केन्द्र द्वारा सञ्चालित दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजना कार्यक्रम संयोजक सुजन कुमार खत्रीले बताए । जलवायु परिवर्तनको विषयमा आम नागरिकलाई जानकारी हुनुका साथै यस विषयमा सबै सचेत रहन आवश्यक रहेको समेत संयोजक खत्रीले बताए ।
जलवायु परिवर्तन सम्बन्धी प्रभाव न्यूनीकरण तथा अनुकूलनका क्रियाकलापहरू सञ्चालन गर्न पालिकाले विशेष प्राथमिकता दिने बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष बिस्ना देउवा बमले बर्ताइन् । ग्रामीण समुदाय विकास केन्द्रले बिद्यार्थिहरुको रचनात्मक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने खालको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद सहित आगामी दिनमा सञ्चालन गरिने कार्यक्रममा पूर्ण सहयोग गर्ने समेत उपाध्यक्ष बमले बताइन् ।
निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट विजेता दुई जनालाई झोला, क्यालकुलेटर, एक दर्जन कापी, कलम प्रमाण पत्र उपलब्ध गराएको थियो भने अन्य सहभागीहरूलाई डायरी र प्रमाण पत्र उपलब्ध गराएको आयोजकले जनाएको छ ।
ग्रामीण समुदाय विकास केन्द्र (आरसिडिसी) द्वारा सञ्चालित दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजना कार्यक्रम संयोजक सुजन कुमार खत्रीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बोगटान फुड्सिल गाउँपालिकाकी उपाध्यक्ष बिस्ना देउवा बम रहेकी थिइन भने कार्यक्रममा वडा अध्यक्षहरू, शाखा प्रमुखहरू, सरकारी तथा गैर सरकारी सङ्घ संस्थाका प्रमुख प्रतिनिधि, स्थानीय, शिक्षक बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।
