डोटी : डोटी बहुमुखी क्याम्पस डोटीको स्ववियु सभापतिमा अनेरास्ववियु बाट लक्ष्मण बोहराले उम्मेदवारी दर्ता गरेका छन् । अखिल (क्रान्तिकारी) र अनेरास्ववियुको चुनावी तालमेल अनुसार त्रिभुवन विश्वविद्यालयको सुदूरपश्चिमकै पुरानो आङ्गिक क्याम्पस डोटी बहुमुखी क्याम्पसमा बोहराले उम्मेदवारी दर्ता गरेका हुन् ।
सचिवमा शिवराज भट्ट र कोषाध्यक्षमा तपेस विकको उम्मेदवारी परेको छ । भट्ट अखिल (क्रान्तिकारी) का हुन् भने बिक अनेरास्ववियुका हुन् । त्यस्तै नेबिसंग बाट जेनिश बोहरा र विप्लव पार्टी निकट अखिल (क्रान्तिकारी) र अखिल (छैटौँ) को साझा उम्मेदवारको रूपमा टेेकेन्द्र बोगटीको उम्मेदवारी परेको छ ।
डोटी जिल्लाका ६ क्याम्पसमा एमाले पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र माओवादी केन्द्र पार्टी निकट अखिल (क्रान्तिकारी) का बिच चुनावी तालमेल गर्ने सहमति भएको छ । दुवै सङ्गठनले ३/३ क्याम्पसको नेतृत्व गर्ने सहमति भएको हो । केदार ज्योति पुञ्ज क्याम्पस बिपीनगर, क्रान्तिकारीले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । दिपायल म्याम्पस दिपायल र खप्तड आदर्श बहुमुखी क्याम्पसमा कनैपनि संगठनले मनोनयन दर्ता गरेका छनैन् । विद्यार्थी संगठन बिच विवाद सिर्जना हुँदा शनिबार साँझसम्म पनि कुनै पनि संगठनले मनोनयन दर्ता नगरेको क्याम्पसले जनाएका छन् ।
सहमति अनुसार जुन क्याम्पसमा जुन सङ्गठनले सभापति पायो कोषाध्यक्ष पनि सोही सङ्गठनको हुनेछ । उपाध्यक्ष र सचिव फरक सङ्गठनबाट हुने र सङ्गठनको अवस्था अनुसार सहसचिव र सदस्यहरूको बाँडफाँड भएको छ ।
सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतको सेती महाकाली क्याम्पस जोरायलको सभापतिमा अखिल क्रान्तिकारी र सिताराम क्याम्पसको सभापतिमा अनेरास्ववियुले उम्मेदवार उठाउने छ ।
त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पसमा चैत ५ गते र सुदूर पश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा चैत ८ गते स्ववियु चुनाव हुँदै छ ।