
गणेश मौनी
फागुन २७, डोटी
आगामी चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागि डोटीका विभिन्न क्याम्पसहरूमा पाँच विद्यार्थी सङ्गठनहरूले मनोनयन दर्ता गराएका छन् । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन कार्य तालिका अनुसार त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त क्याम्पसहरूमा शनिवार २ बजे सम्म मनोनयन दर्ता गराई ५ बजे भित्र उम्मेदवारको नामावली प्रकाशित गर्नुपर्ने व्यवस्था रहेको थियो ।
सोही अनुरूप डोटीमा विभिन्न सङ्गठनहरूले विभिन्न बहुमुखी क्याम्पसहरूमा आफ्नो मनोनयन दर्ता गरेका छन् । जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित डोटी बहुमुखी क्याम्पसमा सभापति पदको लागि तिन जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घले जेनिस बोहराको नेतृत्वमा मनोनयन दर्ता गराएको छ । त्यस्तै नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र माओवादी केन्द्र निकट अखिल कान्तिकारीले संयुक्त रूपमा गठबन्धन गरी अनेरास्वबियुका साझा उम्मेदवार लक्ष्मण बोहरा को नेतृत्वमा मनोनयन दर्ता गरेका छन् ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (कान्तिकारी) र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँले संयुक्त रूपमा गठबन्धन गरी साझा उम्मेदवारको रूपमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (कान्तिकारी)का टेकेन्द्र बोगटीको नेतृत्वमा मनोनयन दर्ता गरेका हुन् ।
त्यस्तै बडीकेदार गाउँपालिका अन्तरगत रहेको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस बिपीनगरमा नेपाल विद्यार्थी सङ्घले निर्मल बोहराको नेतृत्वमा मनोनयन दर्ता गरेको छ । त्यस्तै नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र माओवादी केन्द्र निकट अखिल कान्तिकारीले संयुक्त रूपमा गठबन्धन गरी अखिल कान्तिकारीका साझा उम्मेदवार सुरेन्द्र साउदको नेतृत्वमा मनोनयन दर्ता गराएका छन् । सो क्याम्पसमा अन्य सङ्गठनले भने मनोनयन दर्ता नगरेको केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस बिपीनगरले जनाएको छ ।
त्यस्तै दिपायलमा रहेको दिपायल बहुमुखी क्याम्पसमा पनि कुनै विद्यार्थी सङ्गठनले मनोनयन दर्ता गराएको छैन । स्वबीयु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ र अखिल कान्तिकारीले सङ्गठन दर्ता गराएको भएपनी निर्वाचनमा सहभागी हुन कुनै पनि सङ्गठनले मनोनयन दर्ता नगरेको दिपायल क्याम्पसका प्राध्यापक शुक्लानन्द झाले बताए ।
त्यस्तै डोटीको आदर्श गाउँपालिकामा रहेको खप्तड आदर्श बहुमुखी क्याम्पसमा पनि शनिवार सम्म कुनै विद्यार्थी सङ्गठनले मनोनयन गर्दा गराएको छैन । विद्यार्थी सङ्गठनहरू बिचको आपसी विवादका कारण कुनै पनि सङ्गठनले मनोनयन दर्ता नगरेको क्याम्पस प्रमुख मोहन रौतेलाले बताए । आइतबार तिनै विद्यार्थी सङ्गठनहरू बिच संयुक्त बैठक बसी छलफल गरिने बताए ।
सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसहरूमा चैत्र ८ गते निर्वाचनको मिति तोकिएको छ । सो अन्तरगतका क्याम्पसहरूका लागि निर्वाचनमा भाग लिन विद्यार्थी सङ्गठनहरू छलफल गरिरहेका छन् ।
