
२०७२ सालको वैशाख १२ गते गएको भूकम्पले धेरै असर गरेको जिल्ला सिन्धुपाल्चोक जुगल गाउँपालिकाकी राजकुमारी तामाङले त्यतिबेला भूकम्प गएको भन्ने नै बिर्सिसक्नु भएको छ । भूकम्प जाँदा उहाँ १४ वर्षको हुनुहुन्थ्यो । ‘वैशाख १२ गते आउँछ जान्छ के भो र’ वैशाख १२ गतेको भूकम्पको कुरा सम्झाउँदा उहाँको स्वभाविक प्रतिक्रिया थियो ।
तामाङ वैशाख १२ गते स्कुल छुट्टी भएका कारण बारीमा मकै गोड्ने काम गर्दै हुनुहुन्थ्यो । घरमा उहाँको आमाबाहेका सबै बाहिर नै काम गर्दै थिए । एकाएक भूकम्प गयो । उहाँ भन्नुहुन्छ, ‘खन्दै थिएँ । हल्लियो । पारीपट्टी यसो हेरेको । एकै पटक सबै गाउँ नै ध्वस्त भयो । धेरै मानिस पनि बिते ।’
उहाँले भनेको नाम्फा गाउँ हो । नाम्फामा धेरै घर ढुङ्गा र माटोले बनेका थिए । त्यसकारण पनि कुनै घर बचेनन् । करिब सय घर रहेको उहाँको गाउँ पाङ्गरपुरका पनि एक/दुई घर छोडेर सबै ध्वस्त नै भए । उहाँ भन्नुहुन्छ, ‘शनिवार भएका कारण धेरै मान्छे काममा बाहिर गएका कारण बाँचे । घरमा बसेका केटाकेटी बुढाबुढी अनि पाहुना आएका सबै बिते । हाम्रो घर पनि भत्कियो । मेरो ममि भाग्यले बाँच्नु भयो ।’
अवस्था एकदमै दयनीय थियो । उहाँ सम्झनुहुन्छ, ‘एउटै घरको पनि पाँच जना बित्नु भएको छ । गाईबस्तु पनि धेरै मरे । भीर, पाखामा पनि मान्छेहरु लडेर बित्नुभयो । सम्झँदा पनि कहाली लागेर आउँछ ।’

भूकम्प आएपछि उहाँहरु गोठको सामान ल्याएर छाप्रो बनाएरै बस्नु भयो । दुई/चार दिन खानेकुरा पनि भएन । अनि केहीको घरबाट पुरिएको खाद्यान्न झिकेर खाने अवस्था बन्यो, पछि भने राहत आउन थालेपछि मात्रै सजिलो भयो ।
अहिले पनि उहाँलाई घरबाट भने भूकम्प आएको दिन भनेर सम्झाइरहन्छन् । राम्रोसँग बस्नु भनेर पनि भन्छन् । ‘ममिले घरबाट राम्रोसँग बस्नु भनेर भनिरहनु भएको थियो,’ उहाँ भन्नुहुन्छ, ‘अब सम्झेर याद गरेर बसिरहन पनि हुँदैन । अब सम्झेर याद गरेर बसिरह्यो भने झन डर हुन्छ । अब अगाडि बढ्नु पर्ने मान्छे त्यसलाई सम्झेर बसेर भएन । त्यै भएर बिर्सेछु ।’
भूकम्पमा परेर आफन्त गुमाएका वा घर क्षति भएका बाहेक धेरैले वैशाख १२ को भूकम्प बिर्सिसकेका छन् । भूकम्प गएको एक/दुई वर्षसम्म मानिसहरु घर पनि सानो बनाउने भन्ने गर्थे तर, अहिलेको घर बनाइ वा अन्य निर्माण कार्य हेर्दा लाग्छ यहाँ भूकम्प गएको नै थिएन र अब आउँदा पनि आउँदैन ।
इन्द्रचोक बस्ने वर्ष ८० का ज्योतिरत्न तुलाधरका छोराहरु वैशाख १२ गएको भूकम्पमा टुँडिखेलमा आफ्नै गाडीमा सुत्नुभयो । तर, उहाँ भने जे पर्छ पर्छ भनेर आफ्नै घरमा सुत्नुभयो । भूकम्प नै आउँदा भने उहाँ जुत्ता नै नलगाइकन भाग्नु भयो । दिनभर बाहिरै बस्नुभयो । वैशाख १२ को भूकम्पमा परेर उहाँको काठमाण्डौ महानगरपालिका–१९ प्याफलमा रहेको घरमा अहिले पनि टेको लगाएर राखिएको छ । तर, उहाँ भन्नुहुन्छ, ‘भूकम्प भनेको यस्तै हो आउँछ, जान्छ ।’
मान्छेले भूकम्प बिर्सिए पनि भूकम्पले भने मान्छेलाई सम्झाइ रहेको छ । गएको माघ ८ गतेदेखि वैशाख १० गतेसम्ममा १९ पटक भूकम्प गएको छ । जसमा सबैभन्दा ठूलो बाजुरा केन्द्रविन्दु भएर माघ १० गते गएको ५ दशमलव ९ रेक्टरको भूकम्प गएको थियो । सबैभन्दा सानो चैत १७ गते ताप्लेजुङ केन्द्रविन्दु भएर ४ रेक्टरको भूकम्प गएको थियो ।
गएकोे तीन महिनामा १९ पटक भूकम्प गएकोमा ४ रेक्टरको २ पटक, ४ दशमलव १ को ५ पटक, ४ दशमलव २ को २ पटक, ४ दशमलव ३ को ३ पटक, ४ दशमलव ४ को १ पटक, ४ दशमलव ५ को १ पटक, ४ दशमलव ६ को १ पटक, ४ दशमलव ८ को १ पटक, ५ दशमलव २ को २ पटक, ५ दशमलव ९ को भूकम्प १ पटक गएको छ ।
आठ वर्षअघि २०७२ साल वैशाख १२ गते शनिवार गएको ७ दशमलव ८ रेक्टरको भूकम्पमा परेर ८ हजार ५ सय ५६ जनाको ज्यान गएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ६ लाख २ हजार २ सय ५७ नागरिकका घर तथा २ हजार ६ सय ७३ सरकारी भवन पूर्णरुपमा क्षति भएको थियो । तर, पनि अहिले मान्छेले घर तथा अन्य निर्माणकार्य गर्दा भने भूकम्प आएको बिर्सिए जसो गरी अग्ला, ठूला र भूकम्प प्रतिरोधी प्रविधि नपनाइ खर्च किफायती हुन्छ भन्ने ढंगले बनाइरहेको देखिन्छ ।
