
डोटी : त्रिभुवन विश्व विद्यालयको आङ्गिक डोटी बहुमुखी क्याम्पस डाेटीले ६३ ओैं स्थापना दिवस मनाएको छ । सुदूरपश्चिम प्रदेशकै पुरानो डोटी क्याम्पसले २०१७ सालमा स्थापना भएको सम्झनामा एक कार्यक्रमको आयोजना गरी शुक्रवार वार्षिकोत्सव मनाएको हो ।
जिल्ला समन्वय समिति डोटी प्रमुख लक्ष्मण सिंह, विभिन्न पालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, वडा अध्यक्ष, पूर्व क्याम्पस प्रमुख, क्याम्पस अक्षयकोष दाता, शिक्षा प्रेमी, प्राध्यापक तथा विद्यार्थी सहभागी वार्षिकोत्सव कार्यक्रममा क्याम्पस प्रमुख दिलानन्द जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रमुख जोशीले क्याम्पसको हालको अवस्थाको बारेमा कार्यक्रममा जानकारी दिँदै विभिन्न समस्याका बाबजुद इमानदारीका साथ क्याम्पस प्रमुखको भूमिका निभाइरहेको बताए ।

दरबन्दी अनुसार क्याम्पसमा प्राध्यापक र कर्मचारी नहुँदा पनि विद्यार्थीको सङ्ख्या वृद्धि गर्न हर सम्भव प्रयास गरिरहेको र क्याम्पसको शैक्षिक गुणस्तर बढाउन सबैको आवश्यकता ओैल्याउदै साथ दिन उनले आग्रह गरे । क्याम्पसमा प्रदेश सरकारको लगानीमा दुई भवन निर्माण भइरहेको र थप विकासका लागि जिल्लाका नौ वटै पालिकासँग छलफल र समन्वय गर्ने प्रमुख जोशीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण बहादुर सिंहले शिक्षामा रहेको परम्परागत शैली हटाउनुपर्ने बताए । क्याम्पसले पछिल्लो युगले मागे अनुसार शिक्षा दिन सक्नुपर्ने बताउँदै त्यसको लागि विभिन्न सङ्घसंस्था, स्थानीय सरकार तथा अन्य सरकारसँग सहकार्य गर्नुपर्ने उनले बताए । प्रमुख सिंहले शिक्षा, स्वास्थ्य, कृषि र यातायातमा विकास गर्न जरुरी रहेको बताए । यी चार वटै कुराको बराबर रूपमा विकास गर्न सकेमा समाज परिवर्तन हुन समय नलाग्ने उनको भनाइ छ ।
कार्यक्रममा अक्षयकोष दाता, क्याम्पसलाई विभिन्न तरिकाबाट सहयोग गर्ने व्यक्तित्व, पूर्व क्याम्पस प्रमुख, क्याम्पस प्राध्यापक, कर्मचारी, उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । त्यस्तै जेठ ३ गतेबाट वार्षिकोत्सवको अवसरमा सञ्चालन भएका भलिबल, फुटबल, कबडि, सट्फुड, टेबल टेनिस, हाजिरी जवाफ, वक्तृत्वकला र कविता प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको छ । हाल यश क्याम्पसमा ११ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
