
डोटी : पुर्विचौकी गाउँपालिकामा महिला मैत्री तथा समावेशी नीति सम्बन्धी छलफल तथा सुझाव सङ्कलन कार्यक्रम गरिएको छ । शनिवार केयर नेपालको आर्थिक सहयोग र मानवीय सहायता साझेदारी मञ्चसँगको सहकार्यमा सम विकास केन्द्र (इडिसी) नेपालले साना गाउँमा कार्यक्रम गरेको हो ।
स्थानीय सरकारले निर्माण गरेका ऐन, कानुन, नीतिहरू महिलामैत्री तथा समावेशी भए नभएको, महिला, दलित, फरक क्षमता भएका, सीमान्तकृत समुदायलाई सम्बोधन गर्न नीति बने नबनेको, नीतिमा भएको ग्याप लगायतका विषयमा पालिका स्तरीय छलफल तथा पृष्ठपोषण गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राम उपाध्यायले पालिकामा भएका ऐन, कानुन, नीति तथा कार्य विधिहरूको बारेमा जानकारी गराए थिए । उनले महिलामैत्री, दलित मैत्री एवं समावेशी नीतिका बारेमा आफ्नो धारणाहरू प्रस्तुत गरेका थिए । बनेका नीतिहरूमा भएका त्रुटि प्राप्त सुझावका आधारमा सम्बोधन गर्ने अध्यक्ष उपाध्यायले बताए ।
कार्यक्रमका सहभागीहरूले हालको नीतिहरूमा महिला, दलित,अपाङ्गता, हलिया, विपद् तथा जोखिममा रहेका सिमान्तकृतहरुको सवाललाई नीतिमा सम्बोधन गर्न समस्याहरूको पहिचान गरी सुझाव तथा धारणा राखेका थिए ।
