काम पूरा नहुँदै सहजपुर–बोगटान सडकको हस्तान्तरणको तयारी

कैलालीको सहजपुरदेखि डोटीको बोगटानसम्मको ५० दशमलव २७ किलोमिटर सडक कालोपत्रका लागि २०७५ फागुन ७ गते शिलान्यास भयो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सडकको शिलान्यास गरेका थिए।
सडक निर्माणको समय यहि असार २५ गते सकिदैछ। तर सडक निर्माणको काम नसकिने भएको हो। बिहिवारसम्म सहजपुर–बोगटान सडकको ४७ किलोमिटर दुई सय मिटर मात्र कालोपत्रको काम पूरा भएको छ। ९१ प्रतिशत काम सकिएको हो।
निर्माण कम्पनीका अनुसार विवाद, पहिरो र चटनका कारण कालोपत्रको काम समयमा नसकिने भएको हो। निर्माण कम्पनीका प्रतिनिधि तेज भट्टका अनुसार सहजपुर–बोगटान सडकको ४८ किलोमिटर ६ सय मिटरदेखि ठुलो चट्टान लागेको छ। चट्टानका कारण सडकको चौडाई बढाउन समस्या हुँदैछ। उनले उक्त क्षेत्रमा ६ वटा स्काभेटर प्रयोग गरिएको बताए। उनले २ सय मिटर सडक असार २५ सम्म कालोपत्र गर्न नसकिने बताएका छन्। भट्टले भने, ‘हाड रक आएकाले काममा समस्या भएको छ। १५ दिनमा काम सक्छौ। कैलाली खण्डमा शिवनगरमा विवाद छ। पाँच सय मिटर छ। आठ सय मिटरमा पहिरो आएको छ। बेसको काम गर्दैछौ। सात सय मिटर कैलाली क्षेत्रमा बाँकी रहन्छ होला।’ कैलाली क्षेत्रको सात सय मिटर र डोटी क्षेत्रको तीन सय मिटर कालोपत्रको काम नगर्ने निमार्ण कम्पनीले सडक हस्तान्तरण गर्ने तयारी गरेको हो।

विसं २०७५ फागुनमा ५० दशमलव २७ किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएको थियो। तर सम्झौताको समय भित्र निर्माण कम्पनीले काम पूरा गरेन। डोटी क्षेत्रमा ८ सय मिटरमा ठुलो चट्टान रहेकाले समस्या भएको हो। पहिरोका कारण एक सय मिटरपनि कालोपत्रको काम रोकिएको छ। सहजपुर–बोगटान सडक योजना कार्यालयका प्रमुख उज्वल श्रेष्ठका अनुसार ९१ प्रतिशत काम पूरा भएको छ। पहिरो गएको क्षेत्रमा काम नहुने उनले पनि बताए। उनले भने, ‘पहिरोका लागि बजेट छैन। बजेट माग गरेका छौ। पछि गर्छाै। पहिरो गएको क्षेत्रमा के गर्ने भन्ने टुंगो लागेको छैन।’
विसं २०४४ सालदेखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्याक खोल्ने काम सुरु गरिएको थियो। कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाडेबाँजसम्म ५० दशलमव २७ किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेवीसँग सम्झौता गरिएको थियो।
सम्झौताअनुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दाँया–बाँया एक÷एक मिटर सोल्जर (ग्रावेल) सडक निर्माण गरिसक्नु पर्नेहो। तर सम्झौताको समयमा काम पूरा गर्न नसकेको निर्माण कम्पनीले पूरा काम नगर्दै सडक हस्तान्तरण गर्ने भएको हो।
एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको सो आयोजनाको सम्झौता रकम एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको छ।
दिनेश खबर बाट साभार
