Before Header
After Navigation

डोटीका चार पालिकाका नागरिक उपभोग गर्छन् दूषित पानी

सिलगढी : डोटीका चार पालिकाका नागरिक दूषित पानी उपभोग गरिरहेको पाइएको छ । स्वास्थ्य कार्यालय डोटीले बिहीबार पत्रकारसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चार पालिकाका नागरिक दूषित पानी खाइरहेको बताइएको हो । जिल्लाका सात स्थानीय तहमा खानेपानीको परीक्षण गर्दा सायल गाउँपालिका, पुर्विचौकी गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र के.आई.सिंह गाउँपालिकाको पानीमा दिशामा हुने कोलिफर्म कीटाणु पाइएको छ । परीक्षण गरिएको बोगटान फुड्सिल गाउँपालिका, जोरायल गाउँपालिका र आदर्श गाउँपालिकामा यस्तो कीटाणु भेटिएको छैन भने शिखर नगरपालिका र बडिकेदार गाउँपालिकामा परीक्षण गर्न बाँकी छ । साथै परीक्षण गरिएका सात वटै स्थानीय तहको पानीमा धमिलोपना पनि भेटिएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार पुर्विचौकी गाउँपालिकाको खप्तड बिचपानि मालिका मन्दिर मुहानको पानी, श्री शार्दूल गुल्म झिग्राना खोलाको पानी, वडा नम्बर ४ को भकारे खानेपानी मुहान, टङ्कीको पानी र धाराको पानी, वडा नम्बर ५ को मुग्रा मुहान, मुग्रा टङ्की, ताने गडा मुहान र मेल पानी धाराको पानी गत जेठ २३ गते परीक्षण गर्दा दिशामा पाइने कीटाणु कोलिर्फ र धमिलोपना भेटिएको हो । असार ६ गते गरिएको परीक्षणमा दिपायल सिलगढीको नेपाल टेलिभिजन टावर नजिकको टङ्कीको पानी, धाराको पानी र गाग्रीमा राखिएको पानीमा पनि धमिलो पना तथा कोलिर्फ भेटिएको हो ।

Sagan sahari bhawan nirman aayojana

त्यस्तै गत वर्षको फागुन महिनाको ८ गते सायल गाउँपालिकाको वडा नम्बर ४ मा रहेको भाँडिखोला मुहान, डौड स्वास्थ्य चौकी धाराको पानी, वसाइ खोलको पानी र बाझो खेत धाराको पानी परीक्षण गर्दा धमिलोपना तथा कोलिर्फ भेटिएको थियो । गत वर्षकै माघ ७ गते के.आई.सिंह गाउँपालिकाको वडा नम्बर ४ मा रहेको बास्कोट मुहान, भाडे गाउँ धारा, टिमरु मुहान, वडा नम्बर ३ को भाड खड्का धारा तथा मुहानको पानीमा परीक्षण गरिएकोमा सबैमा धमिलोपना पाइएको छ भने वडा नम्बर ४ को टिमरु मुहान, वडा नम्बर ३ को भाड खड्का धारा तथा मुहानको पानीमा कोलिफर्म भेटिएको हो ।

बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर ४ र ६, जोरायल गाउँपालिका वडा नम्बर १ र २ तथा आदर्श गाउँपालिकाको वडा नम्बर १ र २ का विभिन्न धारा तथा मुहानको पानी परीक्षण गर्दा धमिलोपना मात्रै भेटिएको छ ।

कोलिफर्म भएको पानी शुद्धीकरण बिना उपभोग गरिरहेमा कुनै नि बेला हैजा जस्ता रोगको महामारी फैलिन सक्ने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । धमिलो पानी राम्रो फिल्टरको प्रयोग गरेर खान सकिने भए पनि दिशामा पाइने कीटाणु मिसिएको पानी क्लोरिन प्रयोग गरेर वा उमालेर मात्रै पिउन सकिने प्रमुख मलासीले बताए । विभिन्न रोगबाट बच्न पानी उमालेर मात्रै पिउन उनले सबैमा आग्रह गरेका छन् । चालु आर्थिक वर्षमा थोरै मात्रामा मात्रै पानीको परीक्षण गरिएको भए पनि आगामी आर्थिक वर्षमा यो कार्यलाई तीव्र बनाउने स्वास्थ्य कार्यालय डोटीले बताएको छ ।

Shaileshwori
Loading...