उच्च अदालत दिपायल प्रविधिमैत्री बन्दै, समयको बचत र कम खर्चिलो

डोटी : उच्च अदालत दिपायल प्रविधिमैत्री बन्दै गएको छ । विश्व प्रविधिमय बन्दै गएको बेला अदालतले आफ्नो कामकारबाहीलाई प्रविधिसँग जोड्दै लगेको छ ।

सोमवार अदालतको वार्षिक समीक्षा कार्यक्रममा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलाले श्रव्यदृष्य मार्फत मुद्दाको सुनुवाइ गर्ने कार्य प्रभावकारी बनिरहेको बताए । श्रव्यदृष्य मार्फत मुद्दाको सुनुवाइ गर्दा अदालतले राखेको लक्ष्य भेटाउन सजिलो भएको न्यायाधीश निरौलाको भनाई छ । देश भरीमा श्रव्यदृष्य मार्फत मुद्दाको सुनुवाइ गर्ने कार्यको सुरुवात सबै भन्दा पहिला सुदूरपश्चिम प्रदेशबाट भएको बताउँदै न्यायाधीश निरौलाले यस कार्यबाट समयको बचत र न्यायालय कम खर्चिलो भएको बताए ।

Sayalb

उच्च अदालत दिपायलमा श्रव्यदृष्य संवाद मार्फत मुद्दाको सुनुवाइ कार्यको सुरुवात २०७८ चैत ५ गतेबाट सुरु भएको थियो । यस्तो भर्चुअल हेयरिङ्ग उपकरण उच्च अदालत दिपायलका मातहतका सबै अदालतहरूमा जडान गरिएको छ । भर्चुअल हेयरिङ्ग सुरु भए देखी हाल सम्म भिडियो कन्फरेन्स मार्फत बहसका लागि एक हजार ७० थान मुद्दामा निवेदन परेको वार्षिक समीक्षा कार्यक्रममा बताइएको छ । त्यसमध्ये चार सय ९२ मुद्दामा बहस हुँदा ४९ जना कानुन व्यवसायीहरूले श्रव्यदृष्य संवाद मार्फत बहस पैरवी गरेका छन् । साथै भिडियो कन्फरेन्स मार्फत ४२ विशेषज्ञ लगायतको बकपत्र भएको छ । यो प्रविधिबाट लामो दुरी यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने मुद्दाका पक्षहरूको समेत समय र स्रोतको बचत भएको छ ।

साथै उच्च अदालत दिपायलले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ । अदालतले एक हजार ३ सय २४ मुद्दा दर्ता हुने अनुमान गरी त्यस मध्येका नौ सय तीन मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा एक हजार दुई सय ५६ मुद्दा दर्ता हुँदा नौ सय २० मुद्दा फर्छ्यौट गरेको छ । अनुमान गरिएको मुद्दाको ६८ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखिएकोमा दर्ता भएका जम्मा मुद्दाको ७३ दशमलव २४ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । गत आर्थिक वर्षसम्म दर्ता भएका जम्मा मुद्दामा फर्छ्यौट हुन बाँकी तीन सय २६ मुद्दा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरी आएका छन् । गत आर्थिक वर्ष यसरी जिम्मेवारी सरी आउने मुद्दाको सङ्ख्या चार सय ८१ रहेका थिए ।

Shaileshwori
Loading...