
साउन ३२, डोटी
डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली बाजुराको बडीमालिकाका लागि प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बडीमालिकाका लागि सरकारी पूजा सामग्री (पेटारो) पठाइएको हो । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले विशेष पूजाआजा गरेपछि बिहिवार जिल्ला प्रशासन कार्यालय डोटीबाट पेटारो बडिमालीका लागि निस्केको छ ।

जनै पूणिर्माको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडीमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ । सोही पूजाआजाका लागि राणा कालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ । पेटारो १५ दिन लगाएर बडिमालिका पुग्ने छ । बिहीबार हिँडेको सरकारी टोली साँझ पूर्वी चौकी गाउँपालिका–१ फुलौट तथा शुक्रवार पूर्वीचौकी–५ मा रहेको धानुकाँडामा बास बस्नेछ । यस्तै अछामको मार्कु, प्रसिद्ध धार्मिक स्थल बैद्यनाथ हुँदै पैदल मार्ग बडीमालिका पुग्ने चलन छ ।


पूजा सामग्रीमा डोटी दिपायलको भुरुरी (धानको पात) र वैद्यनाथको अक्षता समावेश गरिएको हुन्छ । यो वर्षको पेटारो टोलीको नेतृत्व जिल्ला समन्वय समिति डोटीका सवारी चालक छत्रबहादुर खड्काले गरेका छन् । पेटारो प्रस्थानका क्रममा सरकारी पूजा सामग्रीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टुकडीले सलामी दिएको थियो । पेटारो सहितको टोली प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी बडीमालिका तिर लागेको छ ।

