
नवराज जोशी
डोटीको दिपायल सिलगढी नगरपालिकाले सञ्चालन गरेका नगर बस करिब एक महिना देखी ठप्प रहेका छन् । नगर क्षेत्र भित्र नागरिकलाई आवतजावत सहज होस भन्ने उद्देश्यका साथ सुरु गरेको नगर बस ठप्प भए पछि नागरिकले सास्ती पाएका छन् ।
विगत लामो समय देखी दिपायलमा खाद्यान्न कुटानी पिसानी व्यवसाय सञ्चालन गर्दै आएका पूर्ण मलासिले भने ‘ नगर बसको भाडा दर कम भएकाले सिलगढीबाट आफ्ना ग्राहक आउने गरेकोमा हाल नगर बस बन्द हुँदा लोकल जिपले भाडा बढी लिएकाले ग्राहक घटेका छन् ।’ त्यसै गरी दिपायल वाट सिलगढी र सिलगढी वाट दिपायल आवतजावत गर्ने केही निजी तथा प्राइभेट कम्पनी, फर्म तथा कार्यालयका कर्मचारी समेत प्रभावित भएका छन् । लोकल जिप भन्दा नगर बसको भाढादर कम भएको र ज्येष्ठ नागरिक, विद्यार्थी, अपाङ्गता भएका व्यक्तिलाई पचास प्रतिशत र पत्रकारहरूका लागि पूर्ण छुट भएको कारणले नागरीलाई दिपायल सिलगढी आवतजावत गर्न सहज भएको थियो जसका कारण यात्रु लाभान्वित भएका थिए ।
हाल तिन वटै बस बिग्रिएर मर्मतका लागि ग्यारेजमा पठाएको र धनगढीबाट समान मगाउनु पर्ने भएकाले मर्मत कार्यमा ढिलाइ भइरहेको नगर पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शङ्कर सुचीकारले जानकारी दिए । उनले भने ‘ यात्रुलाई मार्का परेको कुरा हाम्रो पनि जानकारीमा छ आज भोली सम्म एउटा बस निरन्तर चलाउने प्रयास गर्दै छौँ ।’

