

नेपाल कम्युनिष्ट पार्टी (एमाले) डोटीको नवौं जिल्ला अधिवेशन मंसिरमा सम्पन्न हुने भएको छ । बुधबार सिलगढीमा सम्पन्न एमाले डोटीको सचिवालय स्तरीय बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी मंसिर २३ र २४ मा आयोजना गर्ने निर्णय गरेको छ ।
एमालेले पार्टी स्थापनाको ६० वर्ष पूरा भएको अवसरमा देशभर जिल्ला अधिवेशन आयोजना गर्न लागेको एमाले पोलिट ब्युरो सदस्य तथा डोटी इञ्चार्ज लिला भण्डारीले जानकारी दिइन् । उनले भनिन्–‘डोटीमा जिल्ला कमिटिको कार्यकाल त पूरा भएको छैन, तर पार्टी स्थापनाको ६० वर्ष पुगेर हिरक जयन्ती मनाउने अवसरमा एमालेले देशभरमा प्रदेश, जिल्ला, पालिका, वडा र टोल कमिटीसम्म अधिवेशन गरीरहेको छ ।’
एमालेले २०८० लार्ई ‘अधिवेशनको वर्ष’का रुपमा लिएको छ । २०७९ फाल्गुनदेखि २०८० बैशाखसम्म एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ कार्यक्रमपश्चात बैशाख २८ देखि ३० सम्म सञ्चालित केन्द्रिय कमिटीको बैठकबाट २०८० लार्ई ‘अधिवेशनको वर्ष’का रुपमा तोकेको हो ।
जस अनुसार देशभरका प्रदेश अधिवेशनको मिति घोषणा भैसकेको छ भने आगामी चैत्र मसान्तसम्म जिल्ला, पालिका, वडा र टोल अधिवेशन गर्ने निर्णय रहेको छ ।
सोहि समय सिमाका आधारमा एमाले डोटीले पनि कार्यतालिका तयार पारेको एमाले डोटी अध्यक्ष चक्र मल्लले बताए । अध्यक्ष मल्लका अनुसार भाद्र महिनामा पालिका स्तरमा बैठक, भेला, प्रशिक्षण सञ्चालन गर्ने र सोहि कार्यक्रमहरुबाट पालिकागत कार्ययोजना निर्माण गरी पार्टी गतिविधी सञ्चालन हुनेछन् ।
एमालेको निर्णय अनुसार पहिलो चरणमा यहि भाद्र ८ गते शिखर नगरपालिका, ९ गते पुर्विचौकी गाउँपालिका, १० गते दिपायल सिलगढी नगरपालिका, ११ गते के।आई।सिंह गाउँपालिका, १२ गते आदर्श गाउँपालिका, १३ गते सायल गाउँपालिका, १६ गते जोरायल गाउँपालिका, १७ गते बडिकेदार गाउँपालिका र १८ गते बोगटान फुड्सिल गाउँपालिकामा बैठक, भेला तथा प्रशिक्षण कार्यक्रम तय गरेको एमाले डोटी सचिव शेर बहादुर मल्लले जानकारी दिए ।
त्यस लगत्तै भाद्र २३ गते एमालेले सबै जनसंगठनहरुको संयुक्त भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ भने अधिवेशन गर्न बाँकी रहेका जनसंगठनहरुको आगामी असोज मसान्तभित्र अधिवेशनहरु सम्पन्न गर्नेछ ।
यस्तै पार्टीका ९ वटै पालिका कमिटी अधिवेशन आगामी माघ मसान्तभित्र, ६५ वटै वडाका अधिवेशन फाल्गुन मसान्तभित्र र जिल्लाभरका टोल कमिटीको अधिवेशन चैत्र मसान्तभित्र गरिसक्ने तथा पालिकाहरुमा वर्षमा कम्तिमा २ पटक पार्टी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसका साथै जिल्लाका सबै भूगोल समेट्ने गरी १९ जनालाई पार्टी जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ भने हर्क बहादुर सिंहको संयोजकत्वमा जिल्ला सल्लाहकार परिषद, सहदेव खाँतीको संयोजकत्वमा जेष्ठ नागरिक मञ्च गठन र केहि विभागहरुलाई पूर्णता दिएको छ ।
यसैगरी एमाले डोटी जिल्ला कमिटी उप–सचिव तेज बहादुर डुम्रेलकी ममतामयी आमाको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ ।
