
मोहन ठकुल्ला
भदौ १५, डोटी
डोटी बहुमुखी क्याम्पस डोटीले १६ औँ पुस्तकालय दिवस मनाएको छ । ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ भन्ने नारासहित शुक्रवार क्याम्पस सभा हलमा एक कार्यक्रमका साथ दिवस मनाइएको हो । दिवसका अवसरमा चित्रकला प्रतियोगिता र अनलाइन पुस्तकालय सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

चित्रकला प्रतियोगितामा मानविकी संकायकी सुस्मा मलाशी प्रथम, शिक्षा शास्त्र संकायका दीपक रावत द्वितीय र शिक्षा संकायका डम्बर गडसिला तृतीय र राजेन्द्र बोहरा सान्त्वना भएका छन् । भौतिक अध्ययन सँगसँगै अनलाइनको माध्यमबाट अध्ययन गर्न आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि, सहप्राध्यापक खेमराज पनेरूले बताए । भौतिक रूपले मात्रै पछिल्लो विकास क्रमको अध्ययन गर्न सम्भव नहुने भएकाले अनलाइन पुस्तकालय अध्ययन गर्ने बानी बसाउनु पर्ने पनेरुले बताए ।
क्याम्पस प्रमुख दिलानन्द जोशीले विद्यार्थीले इन्टरनेटको सही सदुपयोग गर्नुपर्ने बताए । व्यक्ति अब्बल बन्न खोज अनुसन्धान आवश्यक रहेकाले यसका लागि इन्टरनेट सजिलो माध्यम रहेको जोशीले बताए ।
क्याम्पसले अनलाइनको माध्यमबाट सेवा दिइरहेकोले विद्यार्थीहरूले ओइवसाइट भ्रमण गर्नु पर्ने क्याम्पसका प्राविधिक प्रमुख तथा प्रशिक्षक विक्रम केसीले बताए । विद्यार्थीले क्याम्पस इएमआईएस शाखामा अनलाइन पुस्तकालय सम्बन्धी सामाग्रीको प्रयोग बारे बुझ्न सक्ने उनले बताए । इन्टरनेटको विकाससँगै पुस्तकालय हरेकको व्यक्तिको खल्तीमा रहको केसीको भनाइ छ ।
