
भदौ १६, डोटी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ डोटीमा पनि सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रूपमा उद्घाटन गरेसँगै शनिवारबाट अभियानको सुरुवात भएको हो । माओवादीले जिल्लालाई ६ क्षेत्रमा छुट्ट्याएर ५ जना केन्द्रीय सदस्य र एक जना प्रदेश उपाध्यक्षलाई कमान्डर तोकेको छ ।

केन्द्रीय सदस्य लक्ष्मणदत्त जोशी कमान्डर रहेको टोली नं. १ को कार्यक्षेत्र पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाको ६ देखी ९ नम्बर वडा, केन्द्रीय सदस्य शरदसिंह भण्डारी कमान्डर रहेको टोली नं. २ को कार्यक्षेत्र दिपायल सिलगढी नगरपालिका १ देखी ५ वडा र के.आई.सिंह गाउँपालिका ४ देखी ७ वडा र केन्द्रीय सदस्य गोविन्द विक कमान्डर रहेको टोली नं. ३ को कार्यक्षेत्र आदर्श गाउँपालिका र सायल गाउँपालिका रहेको छ ।

त्यस्तै केन्द्रीय सदस्य डम्बर रावल कमान्डर रहेको टोली नं. ४ को कार्यक्षेत्र शिखर नगरपालिका, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लक्षिराम आचार्य कमान्डर रहेको टोली नं. ५ को कार्यक्षेत्र बोगटान फुड्सिल गाउँपालिका तथा के.आई.सिंह गाउँपालिका १ देखी ३ वडा र जोरायल र बडिकेदार गाउँपालिका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष कृष्ण बडूवाल कमान्डर रहेको टोली नं. ६ को कार्यक्षेत्र हो ।


कमान्डर र सहकमान्डरहरुले आ–आफ्नो क्षेत्रको एक ठाउँबाट र प्रत्येक वडामा पार्टीका प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी सदस्यले अभियानको सुरुवात गरेका छन् । अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने माओवादीको योजना छ । जनतालाई प्रत्यक्ष भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराउने माओवादी डोटी जिल्ला इन्चार्ज लक्षिराम आचार्यले बताए ।





