

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशमा सुरु गरेको ‘जनतासँग माओवादी, विशेष रुपमान्तण’ तीन महिने अभियानमा सुदूरपश्चिम प्रदेशमा ७९ वटा अभियान टोली बनाइ सुदूरपश्चिमका ८८ स्थानीय तह र ७३४ वडामा १५८० नेता कार्यकर्ता खटिएको नेकपा (माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यले जानकारी दिए ।
अभियान टोलीले पहिलो चरणका कार्यक्रम चलिरहेको बताउँदै सचिव आचार्यले तीन महिनापछि गाउँसम्मको पार्टी र जनताको आस्थाको विस्तृत प्रतिवेदन आउने र त्यसपछि आर्थिक, सामाजिक, शैक्षिक, विकास निर्माणलगायतका जनताको जीवनसँग प्रत्यक्ष जोडिएका समस्यालाई कसरी समाधान गर्ने योजना पार्टीले बनाउने बताए ।
नेकपा (माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यले माओवादीहरू रूपान्तरण हुन तीन महिने अभियान सञ्चालन गरिएको बताए । उनले जनताभन्दा माओवादी नेता कार्यकर्तामा रूपान्तरणको आवश्यकता भएको महसुस गरेर अभियानमार्फत जनतामा फर्केको बताए ।
मङ्गलवार धनगढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै आचार्यले भने, “जनता बिग्रेका छैनन् । खुला राजनीतिमा आएसँगै हामी नेता कार्यकर्तामा फोहोर मैला लागेको छ । त्यो पखाल्न जनतामा फर्केका हौँ ।”
सचिव आचार्यले अहिलेको राजनीतिक उपलब्धि आफ्नो पार्टीकै नेतृत्वमा प्राप्त भएको बताउँदै त्यसको पुष्टि पहिलो संविधानसभामा पार्टीको पक्षमा व्यक्त भएको जनतमले पुष्टि गरेको बताए । माओवादीप्रतिको विश्वास गुम्नु अस्वीकार नभएको बताउँदै आचार्यले भने, “माओवादीको जनताको विश्वास गुम्नुको मुख्य कारण जनताले हाम्रो पार्टीलाई अस्वीकार गरेको होइन, हामी भित्रको टुटफुट र विभाजन भएको नै हो । एकीकृत चार टुक्रामा विभाजित हुँदा आउने परिणाम यस्तै हुन्थ्यो ।”
थुप्रै जटिला र कठिनाइका साथ पार्टीले ठुलो जनशक्ति दूर दराजका बस्तीमा केन्द्रित गरेको बताउँदै आचार्यले पार्टी रूपान्तरण हुने अभियानमा सबैले सहयोग र समर्थन गर्न पनि आग्रह गरे ।
एक अर्को प्रसङ्गमा आचार्यले सुदूरपश्चिम आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, भाषिक, भौगोलिक तथा उब्जाउ जमिन र जातीय हिसाबमा पछि नपर्नुपर्ने भए पनि गरिबी, विपन्नता, बेरोजगारीलगायतका क्षेत्रमा गम्भीर समस्या पैदा भएको बताउँदै त्यसबाट मुक्त गर्ने गरी पार्टीले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्न बताए ।
