
सुवास नेपाली, डोटी
श्रीकृष्ण जन्माष्टमीको अवसरमा दिपायल सिलगढी नगरपालिकाको इन्द्रचोकमा मट्का फोड प्रतियोगिता भएको छ।सिलगढी स्थित भैरव प्रसाद गणको व्यवस्थापनमा दिपायल सिलगढी नगरपालिका वडा नं. ५ र ६ को सहयोग तथा राधाकृष्ण मन्दिरको आयोजना मट्काफोड कार्यक्रम गरिएको हो ।

प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय डोटी निर्धारित समयमा मट्का फोड्दै विजयी भएको छ । नेपाली सेनाको भैरव प्रसाद गण, नेपाल प्रहरी, जिल्ला खेलकुद विकास समिति, राधाकृष्ण मन्दिर गरी ४ वटा टिम सहभागी थिए । पहिलो चरणमा तोकिएको निर्धारित १० सेकेन्ड र दोस्रो चरणको १५ सेकेन्डको समयमा सहभागी कुनै टिमले पनि मट्का फुटाउन सकेका थिएनन् । तेस्रो चरणमा २० सेकेन्डको समयावधिमा पहिलो नम्बरमा रहेको जिल्ला प्रहरीको टिम समय सीमाभित्र मट्का फुटाउन सफल भयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा उच्च अदालत नेपालगन्जका न्यायाधीश टंक गुरुङले यस्ता कार्यक्रमले मनोरञ्जनका साथसाथै सामाजिक सद्भाव कायम गर्ने बताए । श्रीकृष्णले मट्का फोरेर दही खाने गरेको किम्बदन्ती अनुसार संस्कृतिको जगेर्ना गर्नुका साथै कला संस्कृतिको प्रवर्द्धनका लागि कार्यक्रमको आयोजना गरिएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजाले बताए ।
मट्काफोड खेलमा विजयी खेलाडीहरूलाई नगर रु १७ हजार पुरस्कार दिइएको छ ।२०७९ साल देखी भैरव प्रसाद गणले उक्त प्रतियोगिताको सुरुवात गरेको थियो ।
