ऐतिहासिक गढी संरक्षणमा नेपाली सेना

सुवास नेपाली 
असोज ६, डोटी 
चारैतिर भिरालो भूभाग, बिचमा अग्लो डाँडामा अवस्थित यो हो तिखा गढी अर्थात् मालिक क्षेत्र । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. १ तिखामा रहेको धार्मिक, ऐतिहासिक, प्राकृतिक पर्यटनको प्रचुर सम्भावना भएर पनि उक्त क्षेत्र प्रचार-प्रसार, संरक्षण, संवर्द्धन अभावमा ओझेलमा छ । तर उक्त क्षेत्रको प्रचार–प्रसार, संरक्षण, संवर्धन गर्ने उद्देश्यले डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गणले स्थानीयहरूको सहकार्यमा सरसफाइ तथा मर्मत कार्यको थालनी  गरेको छ ।
उक्त क्षेत्रमा कलात्मक शैलीमा ठुला–ठुला ढुङ्गाले चारैतिर पर्खाल लगाइएको छ । मन्दिरको छेउमा इट्टा र मासको गारो प्रयोग गरी अन्दाजी २० फिट बढी गहिरो इनार रहेको छ। उक्त परिसरबाटै पूर्वी भागदेखि सेती नदिसम्म भित्रभित्रै झन्डै १ हजार ५ सय मिटर जति सुरुङ मार्गबाट पानी भर्न जाने बाटो रहेको र जुन पुरिइसकेका कारण अहिले देख्न भने सकिँदैन ।
Sayalb
डडेल्धुरा जिल्लामा रहेको अजैमेरु कोट खाल्टोमा रहेको र राज्य सञ्चालनमा सहज होस भन्ने उद्देश्यले तत्कालीन राजा अशोक चल्लले तिखा गढीको निर्माण गरेका र नेपाल एकीकरणको दौरान बि.सं १८४७ मा डोटी राज्यलाई कब्जा गर्दा यस राज्यका राजा दीप शाही परिवार सहित भागेर भारत पलायन भए पछि उक्त गढीको संरक्षण, संवर्द्धन हुन नसकी भत्किन गएको स्थानीय पदम बहादुर खडका बताउछन् ।
तिखामा रहेको तिखा गढी धार्मिक, ऐतिहासिक, प्राकृतिक पर्यटनको प्रचुर सम्भावना भएर पनि प्रचार–प्रसार,संरक्षण, संवर्धन अभावमा ओझेलमा रहेका कारण ऐतिहासिक महत्त्व बोकेको गढी संरक्षणमा नेपाली सेनाले  सरसफाइ तथा मर्मत कार्यको थालनी गरेको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजाले बताए ।
उक्त क्षेत्र ऐतिहासिक र धार्मिक महत्वका साथसाथै पर्यटकीय सम्भावना बोकेका कारण आगामी वर्षको योजनामा समावेश गरी कार्य थालनी गरिने वडा अध्यक्ष कृष्ण साउद बताउछन् । डोटीको सदरमुकाम सिलगढीबाट करिब २० किलोमिटर कालोपत्रे  सडक यात्रासँगै झन्डै ४५ मिनेटको पैदल यात्रापछि उक्त ठाउँमा पुग्न सकिन्छ ।
आन्तरिक पर्यटक नै निकै कम जाने उक्त क्षेत्रको उचित विकास र प्रचारप्रसार गर्न सके बाह्य पर्यटक समेत भित्र्याउन सकिने देखिन्छ ।
Shaileshwori
Bolpatra
Loading...