पुर्विचौकी गाउँपालिकाले सोध्यो कृषिका कर्मचारी भण्डारीलाई स्पष्टीकरण

असोज ०८, डोटी
डोटीको पुर्विचौकी गाउँपालिकाले नायव प्राविधिक सहायक कृषि करार सेवामा कार्यरत प्रेमबहादुर भण्डारीलाई स्पष्टीकरण सोधेको छ । पालिकाले पार्टीको कार्यक्रममा सहभागी भएर तथानाम बोलेको भन्दै वडा नं. ६ को कार्यालय गाँजरीमा कार्यरत भण्डारीलाई लिखित स्पष्टीकरण सोधेको हो । भण्डारी असोज ६ गते पुर्वीचौकी गाउँपालिका–४ को कार्यालय परिसरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी भएका थिए ।
पार्टीका केन्द्रीय सदस्य तथा सांसद डा.तोसिमा कार्की पार्टीको दस्ताबेज पूर्णताका लागि सुझाव सङ्कलनका गर्न डोटी आएका बेला आयोजना गरिएको एक कार्यक्रममा भण्डारी सहभागी भएका थिए । रास्वपाको कार्यक्रममा सहभागी भई पालिकाको स्वीकृति बेगर कार्यालयको विरुद्धमा बोलेको र करार सम्झौता विपरीत कार्य गरेकाले भण्डारीलाई २ दिनभित्र लिखित जवाफ पेस गर्न भनिएको छ । अन्यथा करार सम्झौतामा भएको व्यवस्था अनुसार ७ दिनमा करार सम्झौता स्वतः अन्त्य हुने पालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलद्वारा हस्ताक्षरित स्पष्टीकरण पत्रमा भनिएको छ ।

यता पार्टीको सुझाव सङ्कलनका लागि डोटी आएकी रास्वपा सांसद कार्कीले सांसदसँग गुनासो राख्दा पालिकाले स्पष्टीकरण सोध्नु गलत भएको बताएकी छन् । आफूले जनप्रतिनिधि भएको नाताले जनसरोकारका विषयमा गुनासो सुन्नको लागि बिदाको दिन कार्यक्रम गरेको र त्यहाँ पार्टीको कार्यक्रम हो भनेर सङ्केत गर्ने कुनै पनि सामग्री नराखिएको सांसद डा. कार्कीको दाबी छ ।
सामाजिक सञ्जाल फेसबुकमा सांसद कार्कीले ध्यानाकर्षण भएको बताउँदै सरकारी कर्मचारीले पार्टीको साधारण सदस्यता समेत लिन पाउँदैन भन्ने कुरामा सजक रहेको र अरू पार्टीको जसरी भातृ सङ्गठन बनाउने नीति रास्वपाको नरहेको जनाएकी छन् ।

