रामहरि ओझा
डोटी : शिखर नगरपालिकाले सञ्चालनमा ल्याएको बस सेवा मुनाफामा गएको छ । बस सेवाबाट नगरपालिकाले ३ वर्षमा २६ लाख ९४ हजार ५३० रुपैयाँ मुनाफा कमाएको हो ।
नगरपालिकाले सार्वजनिक यातायातभन्दा सस्तो भाडादरमा सञ्चालन गरेको बस सेवामा ज्येष्ठ नागरिक र सञ्चारकर्मीहरुलाई शुल्क लाग्दैन । विद्यार्थीहरुलाई प्रचलित नियमानुसार भाडा छुटको व्यवस्था छ ।
शिखर नगरपालिकाले २०७५ साल माघ २६ गते २६ सीट क्षमताका दुई बस सञ्चालनमा ल्याएको थियो । नपाले प्रतिबस २८ लाख ३० हजार रुपैयाँमा खरिद गरेको थियो । बस सेवा नगरपालिकाको सिमाना कोराल खोलादेखि जिल्लाकै प्रमुख व्यापारिक केन्द्र दिपायलसम्म सञ्चालन भइरहेको छ ।
नगरपालिकाका सूचना अधिकारी शेरबहादुर कार्कीका अनुसार ३ वर्षमा नगर बस भाडाबाट ९० लाख ३४ हजार १९५ रुपैयाँ उठेको छ । उक्त अवधिमा नगर बसले २२ हजार ८५३ लिटर इन्धन खपत गरेको उनले जानकारी दिए । नगरपालिकाले उपलब्ध गराएको सूचनामा इन्धनको मूल्य उल्लेख गरिएको छैन । तर, प्रचलित दरअनुसार अनुपातमा १६० रुपैयाँ प्रतिलिटर इन्धनको मूल्य लगाउँदा दुई बसले ३ वर्षमा ३६ लाख ५६ हजार ४८० रुपैयाँ खर्च गरेको नपाले जनाएको छ ।
नगर बसका चालक र सहचालकहरुको तलबभत्तामा १९ लाख ७७ हजार ६०० रुपैयाँ खर्च भएको देखिएको छ । यस्तै ३ वर्षमा बस मर्मतमा ७ लाख ५ हजार ५८५ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार बस सञ्चालन गर्दा ३ वर्षमा ६३ लाख ३९ हजार ६६५ रुपैयाँ खर्च भएको छ ।
नगर बसले आर्थिक वर्ष २०७७र०७८ मा ११ लाख २० हजार १२० रुपैयाँ मुनाफा गरेको थियो । यो वर्ष बस भाडाबाट २३ लाख २५ हजार ३५ रुपैयाँ संकलन भएको छ । त्यो अवधिमा इन्धनमा ५ लाख ३२ हजार ८००, कर्मचारी तलबमा ६ लाख र बस मर्मतमा ७२ हजार ३८५ गरी १२ लाख ५ हजार १८६ रुपैयाँ खर्च भएको थियो ।
आर्थिक वर्ष २०७८र०७९ मा ३२ लाख २६ हजार ९०० रुपैयाँ भाडा संकलन गरेको बसको लागि इन्धनमा १२ लाख १८ हजार ७२०, कर्मचारीको तलबमा ६ लाख र मर्मतमा ३ लाख ७० हजार ५२ गरी २१ लाख ८८ हजार ७७२ रुपैयाँ खर्च भएको थियो । यो वर्ष बस सञ्चालनबाट नगरपालिकालाई १० लाख ३८ हजार १२८ रुपैयाँ फाइदा भएको देखिन्छ ।
आर्थिक वर्ष २०७९र०८० मा पनि नगर बस फाइदामै रहेको छ । इन्धनमा १९ लाख ४ हजार ९६०, कर्मचारी तलबमा ७ लाख ७७ हजार ६०० र मर्मतमा २ लाख ६३ हजार १४८ गरी २९ लाख ४५ हजार ७०८ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाअनुसार यो वर्ष बस भाडाबाट ३४ लाख ८१ हजार ९९० संकलन भई ५ लाख ३६ हजार २८२ रुपैयाँ मुनाफा भएको थियो ।
डिजेल खपत बढ्दै, मुनाफा घट्दै
नगर बस सेवा सञ्चालन मुनाफा देखिए पनि रकम भने बर्सेनि घट्दै गएको छ । आर्थिक वर्ष २०७७र०७८ मा ११ लाख २० हजार १२० रुपैयाँको मुनाफा २०७८र०७९ मा १० लाख ३८ हजार १२८ रुपैयाँमा झर्यो ।
त्यस्तै आर्थिक वर्ष २०७९र०८० मा अघिल्लो वर्षको मुनाफाको झण्डै आधामात्रै भयो । त्यस वर्ष ५ लाख ३६ हजार २८२ रुपैयाँमात्रै मुनाफा भएको नपाले जनाएको छ । नगर बस सञ्चालनमा इन्धनको खपत बर्सेनि झण्डै दोब्वरले बढेकाले मुनाफा प्रभावित भएको नपाले जनाएको छ ।
आर्थिक वर्ष २०७७र०७८ मा ३ हजार ३३० लिटर खपत भएको इन्धन २०७८र०७९ मा दोव्बर भन्दा बढी ७ हजार ६१७ लिटर पुगेको छ । त्यस्तै २०७९र०८० मा ११ हजार ९०६ लिटर इन्धन खपत भएको नगरपालिकाका सूचना अधिकारी कार्कीले जानकारी दिए ।
दिपायल सिलगढी नगरपालिकाले सञ्चालनमा ल्याएको नगर बस सेवा भने ३ वर्षमा ५३ लाख ३३ हजार रुपैयाँ घाटामा गएको छ ।