
गएराती गएको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ५७ पुगेको छ । जाजरकोटमा एक सय ५ र रुकुमपश्चिममा ५२ जनाको निधन भएको बताइएको छ ।
भूकम्पबाट जाजरकोटमा एक सय ५ जना र रुकुमपश्चिममा ८५ जना, जुम्लामा ५ जना, दैलेखमा ३ जना, रोल्पामा एक जना र बैतडीमा ३ जना गरी दुई सय २ घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँच वटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका वडा न. १ रामीडाडाँ केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पले हजारौँ निजी तथा सार्वजनिक संरचनामा क्षति भएको छ ।
