जुकाको दबाइ  खानु पर्ने बिरामीलाई ग्यास्ट्रिकको औषधी  

कात्तिक २४, डोटी
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ गोदडाका मान बहादुर साउद औषधी लिन लडागडा स्वास्थ्य चौकी गए । पेटमा जुका परेपछि बिहीबार सोही वडामा रहेको लडागडा स्वास्थ्य चौकी पुगेका मान बहादुरले औषधि लिए । उनले लिनु पर्ने औषधी हो जुकाको तर उनलाई स्वास्थ्य चौकीले दियो ग्यास्ट्रिकको औषधी । स्वास्थ्य चौकीबाट लगेको औषधीमा शङ्का लाग्दा उनले एक जना स्वास्थ्यकर्मीलाई म्यासेन्जरमा औषधीको बारेमा बुझे, ती स्वास्थ्यकर्मीले ‘अल्ट्रासिड–एस’ ग्यास्ट्रिकको औषधी रहेको बताए । ‘मलाइ जुका ठिक नभएसम्म बिहान र साँझ एक/एक ट्याब्लेट खानु भनेर यो औषधी दिइएको थियो, मानबहादुरले भने, अहिले आएर थाहा भयो यो औषधी त ग्यास्ट्रिकको पो रहेछ ।’

त्यसपछि उनले बिहीबार साँझ नै दिउँसो आफूसँग औषधी लिन स्वास्थ्य चौकी पुगेका राम बहादुर साउदलाई भेटे । राम बहादुरले पनि ग्यास्ट्रिकको औषधी लिएका थिए पछि थाहा भयो उनलाई त ग्यास्ट्रिकको नभई एन्टिबायोटिक औषधी दिइएको रहेछ । राम बहादुरले मुलुक न्युजसँग भने, ‘हामीलाई औषधीको बारेमा थाहा हुँदैन, हामी स्वास्थ्यकर्मी माथि विश्वास गर्छौ तर यसरी समस्या एक औषधी अर्को दिँदा हाम्रो स्वास्थ्यमा कस्तो असर पर्ला ?’ यस्तो घटनाले स्वास्थ्य चौकीप्रति अविश्वास पैदा भएको बताएका छन् ।

यसरी सेवाग्राहीलाई औषधी दिने व्यक्ति हुन लडागडा स्वास्थ्य चौकीको ल्याबमा कार्यरत कर्मचारी शेर कुञ्जेडा । उनले सेवाग्राहीलाई बिना ज्ञान औषधीको दिएको बुझिएको छ । हामीले यस बारेमा उनीसँग बुझ्दा बिना जानकारी सेवाग्राहीलाई औषधी दिनु गल्ती भएको बताएका छन् । ‘हिजो १२ बजेपछि स्वास्थ्य चौकीमा कोही पनि थिएनन् म एक्लै थिए, कुञ्जेडाले भने, सेवाग्राही आएपछि मैले औषधी दिएकै हुँ, यो मेरो गल्ती हो, अबदेखि यस्तो गल्ती दोहरिने छैन ।’

Sayalb

स्थानीय गणेश साउदले स्वास्थ्य चौकीबाट यो भन्दा पहिला पनि यस्ता घटना घटेको बताएका छन् । नागरिकको ज्यान नै जोखिममा पर्ने गरी सेवाग्राहीलाई औषधी दिइनु दुखद भएको उनले बताएका छन् । उनले भने, ‘अस्ति गाउँका एक जनालाई झाडापखाला लाग्दा पनि अर्कै औषधी दिइएको थियो, यो सरासर नागरिकको स्वास्थ्यमाथिको खेलबाड हो ।’ कहिले स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभेटिने तथा कुनै दिन कार्यालय समय भन्दा अगाडी नै बन्द हुने गरेको उनको आरोप छ । स्वास्थ्य चौकीले व्यवस्थित तरिकाले सेवा प्रवाह गर्न नसकेको स्थानीयले आरोप लगाएका छन् ।

स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष तथा वडा अध्यक्ष दशरथ बलायरले बाहिर गलत म्यासेज गएको बताएका छन् । औषधी अर्कै दिइएको गुनासो आफूकहाँ आउँदा औषधी दिने स्वास्थ्यको कर्मचारीलाई बुझेको र त्यो सानो समस्या मात्रै भएको उत्तर पाएको अध्यक्ष बलायरले बताए । सेवाग्राहीलाई दिइएको औषधि खादा खास्सै साइड इफेक्ट नपर्ने ल्याबका कर्मचारी शेर कुञ्जेडालाइ उद्धृत गर्दै अध्यक्ष बलायरले बताए । अध्यक्ष बलायरले गुनासो आएकाले स्वास्थ्य चौकीका इन्चार्ज आएपछि यस विषयमा छलफल गर्ने बताएका छन् । अध्यक्ष बलायरका अनुसार स्वास्थ्य चौकी इन्चार्ज नरेश बोहरा तालिमको लागि जिल्ला बाहिर रहेका छन् ।

हामीले यस विषयमा बुझ्न पटक पटक फोन गर्दा पनि बोहराको फोन रिसिभ हुन सकेन ।

Shaileshwori
Loading...