कम्युनिस्ट पार्टी सङ्गठनात्मक प्रणाली र अनुशासन

केशवनाथ योगी (वर्तमान)
कम्युनिस्ट (communist) को अर्थ “महत्त्वपूर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “समाजमा हुने गरेको शोषण अन्याय, अत्याचार, थिचोमिचो, भेदभाव तथा विभिन्न खालका विकृति विसङ्गतिका विरुद्ध आवाज उठाई रहने, सामाजिक विभेदका विरुद्ध सङ्घर्ष गर्ने, मार्क्सवादी, लेलिनवादी सिद्धान्त एवं वैज्ञानिक विचारधारामा दृढ एवं सर्वहारा वर्गको पार्टीको सामूहिक अनुशासनमा रहेर हमेसा रूपान्तरणका पक्षमा रहने क्रान्तिकारीलाई कम्युनिस्ट (communist) भनिन्छ ।
कम्युनिजम  (communism) शब्द ल्याटिन भाषा बाट आएको हो । जसको अर्थ “साझा” हुन्छ ।कम्युनिजम “साम्यवाद”लाई हामीले यसरी परिभाषित गर्न सक्छौ । कम्युनिजम समाजको त्यो अवस्था र व्यवस्था हो । जसमा उत्पादनका सबै साधन र श्रोतहरू जस्तै कलकारखाना, जमिन, खानी जल, जङ्गल लगायत उत्पादनका सबै साधनहरू जनताको साझा सम्पत्ति हुन्छ । लेनिनका शब्दमा “कम्युनिस्ट समाज भनेको त्यस्तो समाज हो जहाँ जमिन, कलकारखाना आदि कुराहरूमा साझा मालिकत्व रहन्छ र मानिसहरू साझा रूपमा काम गर्दछन्” । राज्य भित्र रहेका साधन श्रोतहरू व्यक्तिको मातहतमा नभएर राज्यको मातहत रहन्छ र त्यसको प्रत्यक्ष मालिक जनता हुन्छ त्यो व्यवस्था ल्याउनका लागी कम्युनिस्ट पार्टी गठन भएको हो ।
कम्युनिस्टहरू पुरानो रुढीवादी परम्परा एवं संस्कारलाई परिवर्तन गरी नयाँ सभ्य समाजको निर्माणका लागि निरन्तर लागिरहेका हुन्छन” कम्युनिस्टहरू प्रगतिशील, देशभक्त तथा अनुशासित हुन्छन्” ।
माथि उल्लेखित परिभाषा अनुसार कम्युनिष्टहरुको एक प्रकारको चित्र स्पष्ट देखिन्छ । जो व्यक्ती समाजको रूपान्तरणका लागी हमेसा तयार हुन्छ, जो व्यक्ती देश र जनताको विकास र समृद्धिका खातिर हमेसा सङ्घर्षका लागी तयार रहन्छ । जो व्यक्ती समाजमा हुने गरेको वा भइरहेको शोषण अन्याय, अत्याचार, थिचोमिचो, भेदभाव तथा विभिन्न खालका विकृति विसङ्गतिका विरुद्ध आवाज उठाई रहन्छ त्यो कम्युनिस्ट हो भने त्यस प्रकारका व्यक्तिहरूको सामूहिक विचार, सिद्धान्त र कार्यक्रमका माध्यम बाट दृर्घकालिन समाधानको खोजी गर्न संगठितरुपमा लक्ष्य प्राप्त गर्न मार्क्सवादी, लेलिनवादी सिद्धान्त एवं वैज्ञानिक विचारधाराका आधारमा बनेको सङ्गठन कम्युनिस्ट पार्टी हो । “कम्युनिस्ट पार्टीको सङ्गठनलाई परिस्थिति र त्यसका कामको उद्देश्य अनुकूल ढाल्नु पर्दछ । क्रान्तिकारी वर्गसंर्घषका सबै अभिभारा एवं समाजवादको स्थापना अर्थात् साम्यवादी समाजको पहिलो खुड्किलो टेक्दै त्यसपछिको संक्रमणकालमा कम्युनिस्ट पार्टीले अगुवा दस्ताका रूपमा अग्रिम पहरेदारको भूमिका निर्वाह गर्नु पर्दछ । कम्युनिस्ट पार्टी तथा क्रान्तिकारी सर्वहारावर्गले अझै पनि पुँजीपति वर्गका विरुद्ध लड्नु पर्ने अवस्था हो । यस सन्दर्भमा पुँजीपति वर्गलाई हराउनु र उसको हातबाट सत्ता छिन्नु नै कम्युनिस्ट आन्दोलनको निर्णायक र निर्देशक लक्ष्य हो” । Lenin An outline of Marxismk  पृष्ठ १४१) ।
Sayalb
सङ्गठनात्मक प्रणाली
कम्युनिस्ट पार्टीको उद्देश्य र लक्ष्य सामान्य न भएर अति महत्त्वपूर्ण तर जटिल रहेकाले सामान्य बुर्जुवा पार्टी भन्दा भिन्न एवं सचेत तथा जुझारु हुनु पर्ने आवश्यकता छ । दीर्घकालीन रणनीति जो वैज्ञानिक साम्यवाद हो लाई प्राप्त गर्न तत्कालीन कार्यनीतिको उपयोग वर्तमान परिस्थितिको आधारमा निर्माण गरेर कार्यक्रम कार्यान्वयन गर्नु पर्ने हुनाले कम्युनिस्ट पार्टी र त्यसका सम्पूर्ण पार्टी सदस्यहरू ज्यादै अनुशासित एवं जुझारु हुनु पर्दछ । त्यसकालगी मार्क्सवादी लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको कार्यान्वयन अनिवार्य हुन जान्छ ।
“कम्युनिस्ट पार्टीको सङ्गठनमा जनवादी केन्द्रीयताको अर्थ सर्वहारा जनवाद र केन्द्रीयताका बिचको वास्तविक तालमेल हो” ।
अर्थात् यी दुवै एक अर्काका साथमा मिलेको हुनु पर्दछ भन्ने नै यसको आशय हो । कम्युनिस्ट पार्टीको सङ्गठनमा केन्द्रिकरणको अर्थ परम्परागत र यान्त्रिक केन्द्रिकरण होइन, यो त कम्युनिस्ट कारबाहीको केन्द्रिकरण हो । अर्थात् एक त्यस्तो किसिमको नेतृत्वको निर्माण गर्नु हो, जुन नेतृत्व युद्धका लागि पनि तयार रहन्छ र जस्तो सुकै परिस्थितिमा पनि आफुलाई तदअनुरुप परिवर्तन गर्दै त्यसको सामना गर्ने क्षमता राख्दछ । (लेनिन  lggAn outline of Marxism उहि पृष्ट..१४३)
लेनिनले सङ्गठनात्मक सिद्धान्तका सन्दर्भमा सही सिद्धान्त, सही राजनीतिक लाइन पछि सङ्गठनात्मक नीति सही हुनु पर्ने आवश्यकतामा विशेष जोड दिनु भएको छ । लेनिनले यस सिलसिलामा सङ्गठनात्मक प्रस्तावमा लेख्नु भएको छ कि “कम्युनिस्ट पार्टीमा सही सिद्धान्त, सही राजनीतिक लाइनको निर्धारण पछि सही सङ्गठनात्मक नीतिले निर्णयात्मक महत्त्व राख्दछ” । कुनै कम्युनिष्ट पार्टीको सही सिद्धान्त, सही राजनीतिक लाइन भए पनि सङ्गठनात्मक अनुशासन र सङ्गठनात्मक प्रणाली सही भएन भने पार्टी सङ्गठन बलियो वा शक्तिशाली हुन सक्दैन । यदि पार्टीमा अनुशासन र सङ्गठनात्मक प्रणाली सही भएन भने त्यो पार्टीले आफ्नो राजनीतिक कार्यक्रम र सिद्धान्त समाजमा कार्यान्वयन गर्न सक्दैन । त्यसैले पार्टी सङ्गठन बलियो वा शक्तिशाली बनाउनका लागी पार्टीमा अनुशासन र सङ्गठनात्मक प्रणाली सही र व्यवस्थित हुन जरुरी हुन्छ ।
उनले कम्युनिस्ट पार्टी खासमा उत्पीडित, शोषित र मेहन्तकश जनताको पार्टी भए पनि कम्युनिस्ट पार्टीका सदस्यहरू आम जनता अग्रगामी बढी अनुशासित, सचेत र जुझारु हुनु पर्दछ र हुन्छन् । त्यस प्रकारका सदस्यहरूले मात्र लेनिनवादी सङ्गठनात्मक प्रणाली वा सिद्धान्तलाई कार्यान्वयन गर्न सक्दछन् । लेनिनवादी सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता, कम्युनिस्ट पार्टीको आधारभूत सङ्गठनात्मक सिद्धान्त हो । जनवादी केन्द्रीयताले पार्टीलाई व्यवस्थित, अनुशासित र एकताबद्ध बनाउँछ । भने त्यसतै जनवादी केन्द्रीयता पछि दोस्रो महत्त्वपूर्ण सङ्गठनात्मक सिद्धान्त छलफलमा स्वतन्त्रता तथा काममा एकता हो । यी दुइटै सिद्धान्तहरू पार्टी सिद्धान्तका आधारभूत सिद्धान्तहरू हुन ।  यस प्रकारको  सिद्धान्तलाई कार्यान्वयन गर्ने अग्रगामी, सचेत र अनुशासित सदस्यहरु बाट निर्देशित पार्टी नै क्रान्तिकारी पार्टी बन्न सक्दछ ।
लेनिनले प्रतिपादन गरेको सङ्गठनात्मक सिद्धान्तहरू, जनवादी केन्द्रीयता र छलफलमा स्वतन्त्रता तथा काममा एकताको नीतिलाई सामान्य मानिसले पालना गर्न कठिन हुन्छ । किनकि हरेक मानिस आफ्नो इच्छा र चाहना बमोजिम स्वतन्त्र प्रकारले काम गर्न चाहन्छन् र आफूलाई मन पर्ने कामलाई सजिलो मान्ने गर्दछन् । तर आफ्नो इच्छा विपरीत काम गर्ने कुरा जटिल र असहज हुने गर्छ त्यसका बावजुत आफ्नो असहमति भए पनि महाधिवेशन, केन्द्रीय समिति, उच्च समिति वा बहुमतको निर्णय स्वीकार गर्नु र ईमान्दारिताका साथ काम पुरा गर्नु पर्ने हुन्छ ।
१. जनवादी केन्द्रीयताको अर्थ हुन्छ तल बाट जनवाद र माथि बाट केन्द्रीयता। सबै पार्टी समितिहरू तल बाट चुनिँदै जान्छन् र तलबाट चुनिएका प्रतिनीधिहरुको भेला, सम्मेलन वा महाधिवेशन बाट पार्टीका नीति निर्धारण हून्छन । त्यो वास्तवमा जनवाद हो । तर एक पटक जनवादी तरिका बाट नीति निर्धारित भएपछि वा समिति निर्वाचित भएपछि केन्द्रीयता लागु हुन्छ । महाधिवेशन बाट पारित नीति र विधान सबै पार्टी समितिले मान्नु पर्दछ ।जनवाद भनेको आफ्नो इच्छा बमोजिम काम गर्नु हुन्छ भने केन्द्रीयताको अर्थ पार्टीको कुनै काममा आफ्नो सहमति नभए पनि महाधिवेशन, केन्द्रीय समिति, बहुमतको निर्णय वा निर्देशनलाई मानेर काम पुरा गर्नु प्रत्येक क्रान्तिकारी कम्युनिस्ट कार्यकर्ताको परम कर्तव्य हुन्छ र हुनु पर्दछ ।
२. मार्क्सवादी, लेनिनवादी सङ्गठनात्मक प्रणालीमा छलफलको स्वतन्त्रता तथा काममा एकताकाको सिद्धान्त अन्तरगत कम्युनिस्ट पार्टीमा छलफलको स्वतन्त्रतामा पार्टी सदस्यको इच्छा अनुसार आफ्नो मत प्रकट गर्न पाउँछन् तर कामको एकता भनेको कुनै निर्णयमा आफ्नो सहमति नभए पनि बहुमतको निर्णयमा एकता कायम गर्नु पर्ने हुन्छ । सामान्यतया मानिसहरू आफ्नो इच्छाका विपरीत काम गर्ने कुरालाई असहज रूपमा लिने गर्दछन् र आफ्नो इच्छा विपरीत केन्द्रीयता वा कामको एकताको प्रणाली लाई कार्यान्वयन गर्न अप्ठ्यारो हुन्छ । तिनीहरूको पालना नगर्दा पार्टीमा प्रायशः अनुशासन विहीनताको स्थिति हुन्छ ।
३. मार्क्सवादी, लेनिनवादी सङ्गठनात्मक प्रणालीले पार्टी भित्र देखा पर्ने साना वा ठुला मतभेदहरूलाई पनि सन्तुलनमा राख्नु पर्ने कुरामा जोड दिन्छ । पार्टीको नीति वा विधानले पार्टी सदस्यहरू वा तल्ला कमिटीहरूलाई माथिल्लो कमिटी वा नेतृत्वको आलोचना गर्ने वा मतभेद राख्ने अधिकार दिएको हुन्छ । पार्टीको नीति र विधान अन्तरगत रहेर मात्र गर्न पाइन्छ । तर, त्यस प्रकारको आलोचना वा मतभेद मनोमानी वा स्वेच्छाचारी तरिकाले प्रकट गर्न पाइँदैन । त्यसको अर्थ यो हो कि सबै पार्टी सदस्यहरूलाई आफूले प्राप्त गरेको जिम्मेवारी वा काम गरिरहेको समितिमा मात्र त्यस प्रकारका मतभेद वा आलोचना राख्न पाउने अधिकार हुन्छ । तर तल्ला समिति वा पार्टी सङ्गठन भन्दा बाहिर पार्टीका आन्तरिक मतभेदहरू वा आलोचना राख्न मिल्दैन । तर हाम्रो पार्टीमा पछिल्लो चरणमा यस प्रकारका कयौँ मतभेद वा आलोचनाहरू असम्बन्धित व्यक्ति वा सदस्यहरू सम्म पनि जाने गरेको देखिन्छ ।
यस प्रकारका गतिविधिहरूले नजानिँदो प्रकारले गुटहरूको समेत निर्माण हुने गर्दछ । त्यसले पार्टी सङ्गठनलाई कमजोर मात्र बनाउँदैन पार्टी अनुशासन विहीन हुनुका साथै पार्टीले समाल्न नसकिने गरी अराजकता पनि बढ्दै जान्छ । त्यो बाहेक आफ्नो सङ्गठन, पार्टी सदस्य वा नेतृत्वको विषयमा लुजटक, ब्याकबाईटिङ्घ गर्ने, पिठ्यूँ पछाडि असम्बन्धित स्थानमा असम्बन्धित कुरा गर्ने कार्यहरू पनि पार्टीको अनुशासन, नियम र विधानका विरुद्धको कुरा हो । आजकल पार्टी भित्र यस प्रकारका अनुशासन विहीन कामहरू बढी हुने गरेको पाइन्छ । त्यसैले पार्टी नेतृत्वले समयमै यस प्रकारका कार्य गर्ने जो कोहीलाई अनुशासन भित्र राख्न पहल कदमि लिनु पर्दछ । पार्टीमा अनुशासनको पालना भएको छ वा छैन ? त्यस बारे उदारवादी नीति नअपनाएर लगातार र कडाइपूर्वक अनुगमन निरीक्षण गर्दै अनुशासनलाई कायम राख्ने प्रयास गर्नु पर्दछ । यदि समयमै यस प्रकारका कार्यमा वा गतिविधिमा नियन्त्रण गरिएन वा उदारवादी वा उपेक्षाको नीतिबाट पार्टीको क्रान्तिकारी चरित्र, पार्टी अनुशासन र एकतामा गम्भीर प्रकारको क्षति हुने सम्भावना रहन्छ ।
पार्टी अनुशासन र कर्तव्य
१. कम्युनिस्ट पार्टीका सदस्यहरूले कम्युनिस्ट अनुशासनको पालना गर्नु, सोही अनुसारको आचरण र व्यवहार प्रकट गर्नु पर्दछ । लेनिनले भन्नु भएको छ कि “कम्युनिस्ट पार्टी सर्वहारा वर्गको पार्टी हो र त्यसको उद्देश्य सबै शोषित, पीडित र मिहेनतकश जनताको सेवा गर्नु हो” । तर सामान्य जनता उच्च स्तरको अनुशासनमा बस्न सक्दैनन् त्यस कारण लेनिनले सामान्य जनता होइन, जनता मध्ये अग्रगामी तत्त्वहरूलाई लिएर नै पार्टीको निर्माण गर्ने कुरामा जोड दिनु भएको छ । सामान्य शब्दमा भन्नु पर्दा उनले पार्टीलाई आम जनताको होइन कार्यकर्ताको पार्टी बनाउने कुरामा बढी जोड दिनु भएको छ । त्यसरी पार्टीमा सामेल हुने कार्यकर्ताहरू आम जनता भन्दा फरक अग्रगामी, अन्य भन्दा सचेत, अनुशासित र जुझारु हुन्छन् ।
२. वर्तमान अवस्थामा हाम्रो क्रान्तिकारी पार्टी र कार्यकर्ताहरूको जीवनशैली र व्यवहार सामान्य कामकाजी प्रकारको हुँदै गइरहेको देखिन्छ यो क्रान्तिकारी पार्टीका लागी ज्यादै चिन्ताको विषय हो । सङ्गठनलाई जीवन्त राख्न पार्टी र पार्टी कार्यकताहरुको नियमित क्रियाकलाप वा कार्यक्रमहरू मिहेनतकश जनतालाई आकर्षण गर्ने खालका रचनात्मक तथा संर्घषात्म आकर्षक हुनु जरुरी छ । कम्युनिस्ट पार्टीले गर्नु पर्ने क्रियाकलापका विषयमा लेनिनले भन्नु भएको छ “सङ्गठनका विभिन्न अङ्ग र सदस्यहरूका बिच जीवन्त सम्बन्ध हुनु पर्दछ । यस्तो सम्बन्ध पार्टीले गर्ने नियमित गतिविधि वा क्रियाकलापबाट मात्र स्थापित हुन सक्दछ । कानुनीरुपमा काम गर्ने कम्युनिस्ट पार्टी काममा सहभागी हुँदैनन् यी पार्टीहरूको सबै भन्दा ठुलो कमजोरी यही नै हो”(उहि पृष्ट..१४३) । कम्युनिस्ट पार्टीका सदस्यहरू सैद्धान्तिक र वैचारिक रूपमा परिपक्व भएन भने पार्टीका दैनिक क्रियाकलाप वा कार्यक्रममा वा व्यवहारगत सहभागितामा कमी आउने सम्भावना प्रबल हुन्छ । त्यसैले पार्टी सदस्यको निरन्तर सक्रियता र सहभागिताले नै पार्टी बलियो र अनुशासित बन्न सक्छ ।  “कम्युनिस्ट पार्टी भित्र यदि क्रियाशीलताको अभाव छ र आम सदस्यमा निष्क्रियता छाएको छ भने कम्युनिस्ट कार्यक्रमलाई स्वीकार गर्दा जुन प्रतिज्ञा गरेको हुन्छ त्यसको एक मामुली अंश पनि पुरा गर्न सक्दैनन् । त्यसैले पार्टीको कार्यक्रम लागु गर्ने पहिलो सर्त नै पार्टीका दैनिक काममा सम्पूर्ण पार्टी सदस्यहरूको सक्रियता पूर्ण सहभागिता हो” (उहि पृष्ट..१४४)।
प्रत्येक कम्युनिस्ट पार्टीले हमेसा के कोसिस गर्नु पर्दछ भने उस सँग सही अर्थमा सक्रिय सदस्यहरू रहुन्, सम्पूर्ण पार्टी कार्यकर्ताले यथासम्भव आफ्नो पुरै शक्ति र समय पार्टीलाई दिउन् र यस किसिमका सेवामा आफ्नो सर्वोत्तम शक्ति समर्पण गरुन् । त्यसैले कम्युनिस्ट पार्टी र त्यसका सदस्यहरूले समाजमा सामाजिक व्यवहार लाई प्राथमिकतामा राखेर जनसमुदायका दुख, पिडालाई आफ्नो सम्झिने, समस्याहरूको उठान गरी समस्या समाधानका उपायहरूको खोजी गर्ने, समाधान गर्न प्रयत्न गर्ने काम लाई निरन्तरता दिनु पर्ने आवश्यकता छ । यस प्रकार नै हामीले देश र जनताको सेवा गर्ने काममा तल्लीन हुने र सङ्गठनलाई मजबुत पारेर आफ्ना लक्ष्य उद्देश्यहरू पुरा गर्न सक्ने छौ ।
(लेखक माओवादी केन्द्र सुदूरपश्चिक प्रदेश सह सचिव हुुन् । )
Shaileshwori
Loading...