
रामहरि ओझा
असोज १०, डोटी । सम्झौता भएको ११ वर्षसम्म पनि नबनेको भनी चर्चामा रहेको डोटीको बानेडुंग्रीसैन (सातनाली) मोटरेवल पुलको फाइल जलेर नष्ट भएको छ ।

डिभिजन सडक कुलपातेका सूचना अधिकारी गौरव धामीका अनुसार ठेक्का सम्झौताको म्याद थप गर्नका लागि सडक विभागमा पठाइएको उक्त फाइल भाद्र २३ र २४ गते भएको जेन–जेड आन्दोलनको क्रममा विभागमा भएको आगजनीमा जलेको हो । ‘अन्तिम पटकका लागि म्याद थप गर्न सहमति माग गर्दै विभागमा फाइल पठाएका थियौँ, आन्दोलनका क्रममा जल्यो रे’ सूचना अधिकारी धामीले भने ‘अव के हुने हो, थाह छैन ।’
उनले निर्माण व्यवसायीले २०८३ साल असार २० गतेभित्र काम सक्ने प्रतिबद्धता सहित म्याद थपका लागि निवेदन दिएको हुँदा सोही अनुसार म्याद थपका लागि अनुमति लिन फाइल विभागमा पठाइएको बताए । निर्माण व्यवसायीले माईलस्टोन सहितको कार्य योजना पेस गरेको उनको भनाई छ । तर, फाइल जलेपछि अव के हुन्छ भन्ने कुनै जानकारी छैन ।
शिखर नगरपालिकाको वडा न. १० र ११ जोड्ने गरी बानेडुंग्रीसैनस्थित सेती नदीमाथि मोटरेवल पुल निर्माण गर्न २०७१ साल असार २९ गते तत्कालीन सुदूरपश्चिम सडक डिभिजन कार्यालय नं. २ डोटी र निर्माण कम्पनी पप्पु—राजेन्द्र जेभीबीच सम्झौता भएको थियो । पुलको निर्माण कार्य तीन वर्षभित्र अर्थात् २०७४ साल असार २८ गते सम्पन्न भइसक्नु पर्ने सर्त थियो । निर्माण व्यवसायीको लापरबाहीका कारण सम्झौता भएको ११ वर्ष बितिसक्दा समेत पुल निर्माणको काम पुरा भएको छैन । डिभिजन सडक, कुलपातेले दिएको जानकारी अनुसार हालसम्म उक्त पुलमा २४ प्रतिशत मात्रै काम भएको छ ।
