मङ्सिर १८, डोटी
कृषि ज्ञान केन्द्र डोटीले डढुवा रोगबाट बच्न किसानहरूलाई अनुरोध गरेको छ । हाल मौसम परिवर्तन भइरहेकाले आलुमा डढुवा लाग्न सक्ने जोखिम हुँदा समयमै ख्याल गर्न केन्द्रले अनुरोध गरेको हो ।
अबको समय डढुवा रोगको लागि मौसम अनुकूल हुने भएकाले कृषकहरूले समयमै सजगता अपनाउनुपर्ने कृषि ज्ञान केन्द्र डोटीका निमित्त प्रमुख गङ्गा दत्त अवस्थीले बताए । १० देखी २० डिग्री सेल्सियस तापक्रम, ८० देखी ९० प्रतिशत आद्रता र दिउसो बादल र कुहिरो लागेमा आलु खेतीमा डढुवा लाग्न सक्ने अवस्थिले बताए । छिनछिनमा पानी पर्नु, रातमा अत्यधिक मात्रामा शीत पर्नु र हल्का हावा चल्नु पनि डढुवा रोगको लागि अनुकूल वातावरण हो ।
निमित्त प्रमुख अवस्थीका अनुसार डढुवाको लागि अनुकूल वातावरण भएमा डाइथेन एम–४५ को धुलो २ दशमलव ५ ग्राम प्रति लिटर पानीमा मिसाइ ७ दिनको फरकमा पात भिज्ने गरी छर्ने, रोग देखिन थालेपछि क्रीनोक्सिल, रिडोमिल, कपर अक्सिक्लोराइड १ दशमलव ५ ग्राम प्रति लिटर पानीमा मिसाई ७ दिनको फरकमा पात भिज्ने गरी छर्ने र डाइमिथोमोर्फ वा सेक्टीन २ ग्राम प्रति लिटर पानीमा मिसाई ७ दिनको फरकमा पातको तलपट्टिको भाग भिज्ने गरी छर्नुपर्दछ ।