बोगटानमा सम्भावना बोकेको मौरी पालन पेसा

किरण धामी
मङ्सिर २५, डोटी
डोटी जिल्लाको सदरमुकाम सिलगढीबाट दक्षिणी भेगमा पर्ने बोगटान फुड्सिल गाउँपालिका विभिन्न सम्भावना बोकेको पालिका हो । ७ ओटा वडा रहेको यो पालिका भौगोलिक हिसाबले विकट मानिन्छ । तर सम्भावनाको हिसाबले धनी छ । त्यस्तै सम्भावना बोकेको एक पेसा हो कृषि । यहाँ मुख्य गरी पशु पालन, कुखुरा पालन, तरकारी खेती, फलफूल (सुन्तला, मौसमी, अमिलो, कागती, आँप, ओखर) खेती, मसलादार (अदुवा, बेसार) खेती, मौरी पालन लगायतका पेसाले राम्रो सम्भावना बोकेका छन् ।
गाउँपालिकाको वडा नम्बर १ सिमचौर मौरी पालनको लागि बढी उपयुक्त मानिन्छ । सिमचौरको काँटै, मौडा, घाणहाल्ला, चबरतोला, छिडीखान लगायतका टोलमा विशेष गरी मौरीको मह पाइन्छ । यहाँका प्रत्येक जसो घरमा एक/दुई मौरीका घार राखेको देख्न सकिन्छ । कतिपयको घरमा त ४०/५० ओटा सम्म मौरीका घार छन् । मौडाका खेमराज बोहरा मौरीबाट राम्रो आम्दानी गर्छन् । ३२ वर्षीय खेमराज मौरीको मह बेचेर घर खर्च चलाउँदै आएका छन् । परम्परागत रूपले मौरी पालेका खेमराजको घरमा १८ ओटी मौरीका मुडेँ घार छन् । बिना खर्च राम्रै आम्दानी हुन थालेपछि उनलाई भारत जानु परेको छैन ।
‘पहिला रोजगारीको लागि भारत जाने गर्थे । त्यही काम गरेर ल्याएको रुपैयाँले घर खर्च चलाउँथे, खेमराजले भने, ८ वर्ष देखी भारत गएको छैन अलिकति मह बेचेर पैसा आउँछ घरमा बाख्रा, कुखुरा पनि पाल्ने गरेको छु त्या बाट पनि थोरै थोरै आइहाल्छ । अहिले यसैबाट घर खर्च चलाउने गरेको छु ।’ परम्परागत तरिकाले मौरी पालेको हुँदा त्यसमा धेरै समय पनि दिन नपर्ने र अन्य काम गरेर दोहोरो आम्दानी गर्न सकिने खेमराजले बताए । उनले भने, बजारको समस्या छैन यहाँबाट धनगढी नजिकै छ त्यहाँ गएर बेच्छु, कति त घरमै आउँछन् जति मह उत्पादन भए पनि सबै बिक्री भइहाल्छ ।
सोही ठाउँका अर्का किसान घनश्याम बोहरा पनि मौरीको मह बेचेर वार्षिक ४० हजार भन्दा बढी आम्दानी गर्छन् । ४५ वर्षीय घनश्यामको घरमा यो वर्ष १५ घारमा मौरी छ । ‘२०५४ साल देखी मह बेच्ने गरेको छु । कुनै वर्ष बढी घारमा मौरी हुन्छन् कुनै वर्ष कम हुन्छन्, घनश्यामले भने, जङ्गलबाट मौरी ल्याएर घारमा हाल्नुपर्छ, कुनै वर्ष कम त कुनै वर्ष बढी भेटिन्छन्, एक वर्ष त ३२ घार पुगेका थिए ।’ २० वर्ष देखी वैदेशिक रोजगारीमा नगएको उनले बताए । उनले भने, घरमा मौरी छन् मह बेच्छु ग्राहकहरू पनि घरमै आउँछन् । एउटा सानो व्यापार पनि गर्छु त्यसबाट पनि केही आम्दानी हुन्छ । उनले बताए अनुसार गाउँका केहीले एक वर्षमा मह बेचेर एक लाख भन्दा बढी आम्दानी गर्छन् ।


मौरी पकेट क्षेत्र बनाइ विकास गर्छु : गाउँपालिका अध्यक्ष
बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले सिमचौरलाई मौरी पकेट क्षेत्रको रूपमा अगाडी बढाइने बताए । गाउँपालिकाले सुदूरपश्चिम प्रदेशसँग सहकार्य र समन्वय गरे सिमचौरको मौरी पालन पेसालाई थप विकास गरिने अध्यक्ष गड्सिलाले बताएका छन् । अध्यक्ष गड्सिलाले भने, ‘प्रदेश सरकारसँग हामी सहकार्य गर्ने वातावरण बनाइ रहेका छौँ, यहाँको सामुदायिक वनसँग पनि सहकार्य गर्नेछौँ र मौरी पालनलाई कसरी थप विकास गर्न सकिन्छ त्यस तर्फ हामी लाग्ने छौँ ।’
मौरीलाई मह सङ्कलनका लागि सहयोग हुने गरी वन जङ्गलमा फूल फुल्ने बिरुवा रोप्ने, जङ्गल फडानी तथा आगलागी नियन्त्रण गर्ने, त्यही प्रकारको खेती गर्ने लगायतका काम गर्ने योजना गाउँपालिकाले बनाएको अध्यक्ष गड्सिलाले बताए । सामुदायिक वनमा यहाँको मौरीको मुख्य चरनको रूपमा रहेको चिउरीको बिरुवा बढी भन्दा बढी रोप्नुपर्ने उनले बताए । मौरी पालनलाई विस्तार गर्न सकेमा यहाँका युवाको वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता केही हदसम्म हट्न सक्छ । गाउँपालिकाले युवा रोजगारीलाई जोडेर मौरी पालनलाई विस्तार गर्ने योजना बनाइरहेको जनाएको छ ।
डोटीमा २०७९/०८० मा ५५ लाखको मह उत्पादन
डोटी जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० मा करिब ५५ लाखको मह उत्पादन भएको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ । कृषि ज्ञान केन्द्र डोटीका निमित्त प्रमुख गङ्गादत्त अवस्थीका अनुसार जिल्लाभर ८ सय मौरी घारबाट ५ हजार ५ सय किलोग्राम मह उत्पादन हुँदा ५५ लाख रुपैयाँ आम्दानी भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार डोटीमा उत्पादन भएको महको यकिन तथ्याङ्क प्रस्ट हुन सकेको छैन । धेरै जसो मौरीपालकहरु तथ्याङ्कमा समावेश नभएको हुनसक्ने अनुमान निमित्त प्रमुख अवस्थीको छ । व्यवसायीक रूपमा मौरी पालेकाहरूको मात्रै विवरण कृषि ज्ञान केन्द्रसँग छ । चालु आर्थिक वर्षमा सही डाटाका लागि पालिकालाई मौरी पालक किसान, उत्पादन भएको महको तथ्याङ्क उपलब्ध गराउन भनिसकेको अवस्थीले बताए ।
डोटी जिल्लामा मेलेफेरा र सेरेना दुई प्रजातिका मौरी पाइन्छन् । मौरी जिल्ला भर पाइने भए पनि पकेटको रूपमा जोरायल गाउँपालिका, बडीकेदार गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकालाई राखिएको छ । कृषि ज्ञान केन्द्रले मौरी पाल्न चाहनेको लागि ५० प्रतिशत अनुदान दिने गरी मौरी प्रवर्द्धन कार्यक्रम ल्याइएको कार्यालय प्रमुख अवस्थीले बताए । यस कार्यक्रममा कुल लागतको आधा कृषक आफैले बेहोर्नुपर्नेर्छ । डोटीका किसानले ८ सय देखी १२ सय रुपैयाँ प्रति किलोग्राममा मौरीको मह बेच्दै आएका छन् ।
१० जनालाई ७ दिने तालिम
सिमचौरका दश जनालाई ७ दिने मौरी पालन तालिम दिइएको छ । मङ्सिर १७ गते आइतबारबाट २४ गतेसम्म ग्रामीण समुदाय विकास केन्द्र (आरसीडिसी) को जलवायु परिवर्तन परियोजना अन्तरगत घरेलु तथा साना उद्योग कार्यालय डोटीको आयोजनामा तालिम दिइएको हो । साथै १० जना मौरी पालक किसानहरूलाई प्रति व्यक्ति ३ का दरले साढे ३ लाख रुपैयाँ बराबरका ३० ओटा मौरी घार वितरण गरिएको छ । तालिमबाट व्यवसायिक मौरी पालनका बारेमा विभिन्न कुरा जानेको सहभागीले बताएका छन् ।
