
सायल गाउँपालिकाका मुक्त हलियाहरुले शिक्षामा लगानी गर्न माग गरेका छन् । मुक्त हलियाहरु सामान्य प्रकारका सहयोग नभई प्राविधिक तथा उच्च शिक्षा अध्ययनका लागी सहयोग गर्नु पर्ने सायल गाउँपालिका हलिया सञ्जालका अध्यक्ष कल्पना नागरीले बताई । कल्पनाले भनिन् ‘ सरकारी तथा गैर सरकारी क्षेत्रबाट हलिया समुदायका व्यक्ति तथा परिवारमा लगानी भएको छ अब हाम्रो चाहाना भनेको हाम्रा बच्चाहरूको निःशुल्क पढाई हुने व्यवस्था गर्नु पर्छ ।’
सम विकास केन्द्र नेपाल द्वारा सञ्चालित नेपालमा कृषिमा आधारित बदुँवा श्रमको अन्त्य परियोजनाको सार्वजनिक सुुनुवाई कार्यक्रमका सहभागीहरूले शिक्षामा लगानी गर्नु पर्ने जोड दिएका हुन ।

मुक्त हलियाहरुबाट आएका सुुझाबलाई आफू कार्यान्वयन गर्न प्रतिबद्ध रहेको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए । जोशीले भने ‘हलियाका क्षेत्रमा काम गर्नका लागी पहिलो पटक कार्यविधि निर्माण गर्ने र छुटमुक्त हलियाहरुको तथ्याङ्क सङ्कलनका लागी बजेट विनियोजन गर्ने हामी हौँ, यस कार्यक्रममा आएका सुझावलाई पनि आगामी वर्षहरूमा कार्यान्वयन गर्ने छौँ ।’

परियोजना अन्तरगत सायल गाउँपालिकामा एक वर्षमा भएका क्रियाकलापहरूको प्रतिवेदन कार्यक्रम संयोजक शङ्कर विकले प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदनमा छलफल गर्दै सहभागीहरूले संस्थाको परियोजनाको कार्यक्षेत्र बिस्तार गर्नु पर्ने बढीभन्दा बढी व्यक्तिहरूलाई समावेश गर्नु पर्ने सुझाव दिएका छन् ।
सायल मुक्त हलिया सञ्जालका अध्यक्ष कल्पना नागरीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी प्रमुख अतिथि रहनु भएको थियो भने अतिथि सायल गाउँपालिका वडा नं. ३ का अध्यक्ष एवं प्रवक्ता नवराज उपाध्याय, वडा नं. ५ का अध्यक्ष बहादुर साउँद रहनु भएको थियो । सार्वजनिक सुनुवाइको सहजिकरण पत्रकार कर्ण चन्दले गर्नु भएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा अधिकांश महिलाहरूको उपस्थिति रहेको थियो ।

