आयोजना अलपत्र पार्ने परिपाटीको अन्त्य गरिन्छ : भौतिक मन्त्री देउवा

पुस १५, डोटी ।
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवाले योजनाहरूको काम समयमै सम्पन्न नहुने परिपाटीको अन्त्य गर्न सरकारले विशेष कदम चाल्ने बताएका छन् । आइतबार डोटीको दिपायलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री देउवाले योजनाहरू समयमै सम्पन्न नहुने भएकाले त्यसको समाधानका लागि कमी कमजोरीको बारेमा मन्त्रालयमा समीक्षा भएको बताए । प्रदेशका पहाडी जिल्लाहरू बाजुरा, अछाम र डोटीका विभिन्न योजनाहरूको निरीक्षणका क्रममा डोटी पुगेका मन्त्री देउवाले मन्त्रालयमा भएको समीक्षाले केही समयपछि परिणाम देखाउने बताए ।

Sayalb

आयोजनाहरूका काम अलपत्र पर्नुमा सरकार पक्ष र निर्माण व्यवसायीको उत्तिकै भूमिका रहेको मन्त्री देउवाको भनाई छ । उनले भने, ‘कार्यान्वयनको पाटो प्रदेशको मात्रै नभएर तिनै तहको फितलो छ, आयोजनाहरू बसौँ देखि अलपत्र छन्, आयोजना पुरा नहुने एउटा रोग छ त्यसमा केही सरकारको पनि फल्ट छ भने केही निर्माण कम्पनीको पनि समस्या छ ।’

विगतका सरकारले गरेका राम्रा कामलाई अगाडी बढाउने र त्यति बेला देखिएका विकृतिलाई अन्त्य गर्ने गरी वर्तमान सरकार अघि बढेको मन्त्री देउवाले बताए । मन्त्री देउवाले सङ्घीयता र गणतन्त्रलाई बलियो बनाउन प्रदेशलाई पनि बलियो बनाउनु पर्ने आवश्यक औँल्याए । पछिल्लो समय सङ्घीयता र प्रदेश सरकारको बारेमा नकारात्मक टिप्पणी बढिरहेकाले चुनौती थपिएको बताए । उनले भने, ‘प्रदेश सरकार बलियो बनाउन प्रदेश सरकार के हो ? कसरी जिम्मेवार हुन्छ र यो नजिकको सरकार हो आफ्नो सरकार हो भन्ने हामीले जनतालाई अनुभूति गराउनुपर्ने अहिलेको हाम्रो चुनौती हो ।’ नकारात्मक दृष्टिकोणलाई परिवर्तन गर्न सरकार लागिपरेको मन्त्री देउवाले बताए ।

Shaileshwori
Loading...