
पुस २२, डोटी । बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौरको सेउडेखेतमा सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गरिएको छ । आइतबार (आज) एक कार्यक्रमका बिच आजैबाट सेवा प्रारम्भ हुनेगरि सेउडेखेत सामुदायिक स्वास्थ्य इकाई को उद्घाटन गरिएको हो । सेउडेखेतमा स्वास्थ्य इकाई को स्थापना भएसँगै यहाँका ५९ र छिमेकी पालिका बडिकेदारका ५३ सहित एक सय १२ घरपरिवार लाभान्वित हुने वडा अध्यक्ष खेम घर्तिमगरले बताए ।

वडा अध्यक्षका अनुसार स्वास्थ्य इकाई बाट बोगटानका सेउडेखेत, झ्यामतोला, गुइनडा तथा बडिकेदारका केदारमाण्डौँ, सैनीगाउँ, जैनडा र सिउनाराका बासिन्दा लाभान्वित हुने छन् । परिवार नियोजन सेवा, ओपिडी सेवा, खोप सेवा, पोषण सेवा, गर्भवती जाँच लगायतका सेवा स्वास्थ्य इकाई बाट प्रदान हुने छन् । यसअघि यहाँका नागरिकलाई स्वास्थ्य सेवा लिन लामो बाटो हिँडेर छिडीखान अथवा बडिकेदारको मार्कोट जानुपर्ने बाध्यता थियो ।


स्वास्थ्य इकाई को उद्घाटनपछि बोल्दै गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले स्वास्थ्य इकाई को सेवा स्तरीकरणको लागि पालिका तयार रहेको बताए । नागरिक स्वस्थ भएपछि मात्रै अन्य काम ध्यान दिन सक्ने भएकाले पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र रहने अध्यक्ष गड्सिलाले बताए । वडा अध्यक्ष खेम घर्तिमगरको अध्यक्षता रहेको उद्घाटन कार्यक्रम प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिला र विशिष्ट अतिथि उपाध्यक्ष बिस्ना बम रहेकी थिइन् । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, अन्य जनप्रतिनिधि, स्थानीय, पत्रकार लगायतको उपस्थिति थियो ।

