
१० माघ, डोटी । सुदूरपश्चिम प्रदेश सभाका सांसद शिव सिंह ओलीले प्रदेश राजधानीको मुद्दा पेचिलो बनाउँदै लगेका छन् । मङ्गलवार प्रदेश सभाको शून्य समयमा प्रदेश राजधानी दिपायल सारिनु पर्ने प्रस्ताव राखेका डोटीबाट निर्वाचित सांसद ओलीले बुधवार डोटी पुगेर पनि सोही विषय दोह¥याएका छन् ।

सांसद ओलीले प्रदेश सभामा आफूले बोलेको विषयलाई हल्का रूपमा नबुझिदिन आग्रह गर्दै राजधानीको बारेमा पछि नहट्ने समेत बताए । ‘हिजो नेताको दबाब र प्रभावमा हुन सक्ने राजधानी खोसेर लगियो, त्यसलाई फिर्ता ल्याउनको लागी डोटेली दाजुभाइ उठ्ने की नउठ्ने ? यो प्रश्न मैले प्रदेश सभामा उठाएको छु, सांसद ओलीले भने, यो कुरोमा म त्यत्तिकै रोकिने वाला छैन ।’ राजधानीको विषयमा पहाडी जिल्लाका अन्य सांसदसँग पनि संवाद गरिरहेको ओलीले बताए ।
कैलालीका जनता स्वास्थ्य र शिक्षाको पहुँचमा त्यत्तिकै रहेकाले पहाडमा राजधानी बनेमा यहाँका जनस्तरमा ठुलो प्रभाव पर्ने उनले बताए । अघिल्लो प्रदेश सभाले कार्यान्वयन गर्न राजधानीको विषय यो सभाले टुङ्ग्याउन सक्नुपर्ने सांसद ओलीको तर्क छ ।
