
२२ माघ, डोटी
डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ सातफरीमा डस्टबिन स्वरूप व्यापारीलाई डोका वितरण गरिएको छ । सोमबार वडाका व्यापारीहरूलाई डस्टबिनको रूपमा प्रयोग गर्न ३० ओटा डोका वितरण गरिएको हो ।

ग्रामीण समुदाय विकास केन्द्र र यूएमएन डोटीको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजनाअन्तर्गत वडासँगको सहकार्यमा डोका वितरण गरिएको हो । प्लास्टिकको प्रयोगमा कमी ल्याउन वातावरण अनुकूलित बाँस तथा निगालोबाट बनाइएका डोकालाई फोहोर मैला व्यवस्थापनका लागि डस्टबिनका रूपमा प्रयोगमा ल्याइएको क्लाइमेट परियोजनाका कृषि प्राविधिक शेर बहादुर साउँदले जानकारी दिए ।
वडा अध्यक्ष दीप बहादुर बमको रोहोवरमा वितरण गरिएका डोका सोही ठाउँका टेक बहादुर विष्टले निर्माण गरेका हुन् । डोकालाई डस्टबिनका रूपमा गाउँपालिकाको वडा नम्बर १ सिमचौरमा २०७९ सालदेखि नै प्रयोग गर्न थालिएको थियो ।
