
माघ २६, डोटी । बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सातफरीमा वडा स्तरीय अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप सम्पन्न भएको छ । गौणे मसानी आधारभूत विद्यालय सुन्तडीमा बुधवारबाट सुरु भएको अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप कार्यक्रम शुक्रवार सम्पन्न भएको हो ।

वडाका माद्यामिक तथा आधारभूत गरेर ७ विद्यालयको सहभागिता रहेको कार्यक्रममा दौड, म्युजिकल चियर, वक्तृत्वकला, शब्द चिनारी लगायतका प्रतियोगितामा प्रतिस्पर्धा गराइएको थियो । विद्यार्थीमा भएका तर लुकेर रहेका प्रतिभा बाहिर ल्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष दीप बहादुर बमले जानकारी दिए । किताबी ज्ञान बाहेकका क्रियाकलापमा विद्यार्थी सहभागी हुन आवश्यक रहेको र जसले गर्दा उनीहरूको सर्वाङ्गीण विकास हुने भएकाले वडाले कार्यक्रम गरेको अध्यक्ष बमले बताए । सबै विद्यालयका विद्यार्थीहरूलाई एकै ठाउँमा जम्मा गराएर कार्यक्रम गर्दा एक अर्को विद्यालयका राम्रा अभ्यास सिक्न सकिने भएकाले आगामी दिन अन्य विद्यालयमा पनि कार्यक्रम गरिने अध्यक्ष बमले बताएका छन् ।
कार्यक्रममा सहभागिता जनाई प्रथम, दृतिय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई पुरस्कार दिइएको वडा सदस्य रतन कामीले बताए ।
