नरेन्द्र बहादुर वि.क.
फागुन २५, डोटी
गैरसरकारी संस्था सम विकास केन्द्र (ईडिसि) नेपाल डोटीले २७ औँ स्थापना दिवस मनाएको छ । समतामूलक समाजको निर्माण हाम्रो अभियान भन्ने मूल नाराका साथ २०५३ सालमा स्थापना भएको ईडिसि नेपाल डोटीले शुक्रवार २७ औँ स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसका तथा ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संस्थाले रक्तदान गर्नुका साथै जिल्ला अस्पताल डोटीमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरेको छ । सुशासन, महिला तथा दलित अधिकार, दिगो जीविकोपार्जन र जलवायु न्याय जस्ता विभिन्न सवालहरूमा संस्थाले विगत २७ वर्ष देखि काम गर्दै आएको छ । २०५३ साल फागुन २६ गते विधिवत् रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई कार्य सञ्चालन गरिरहेको संस्थाले स्थापना दिवसको पूर्व सन्ध्यामा कार्यक्रमहरू सञ्चालन गरेको हो ।
संस्थाको कार्यालय सिलगढीमा आयोजना गरेको रक्तदान कार्यक्रममा संस्थाका वित्त तथा प्रशासन प्रमुख कृष्ण सुन्दर श्रेष्ठ, कार्यक्रम अधिकृतहरू रमा भण्डारी र विज्ञान देवलले रक्तदान गरेका छन् । साथै जिल्ला अस्पतालको सहकार्यमा अस्पतालमा रहेका २३ जना बिरामीहरूलाई फलफूलहरू समेत वितरण गरिएको संस्थाले जनाएको छ । दुवै कार्यक्रममा संस्थाका सदस्य, पदाधिकारीहरू र कर्मचारीहरूको सहभागिता रहेको थियो ।